arrow

तोकिएकै मितिमा होला त कांग्रेस महाधिवेशन ? पहिलो दृष्टिमै हस्ताक्षर अभियानले देख्यो अवैज्ञानिक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
congress-meeting-82-8-15yyy (8).jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबारको निर्णयप्रति विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट साझा धारणा एवं अपील सार्वजनिक भएको छ । 

उक्त अपीलमा मंसिर १५ गते बसेको बैठकले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका र अन्य निर्णयहरूप्रति ध्यानाकर्षण भएको जनाइएको छ । यसमा पहिलो दृष्टिमै पुस २६–२८ को महाधिवेशन अव्यवहारिक र अवैज्ञानिक भनिएको छ । अभियानले असोज २८ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठक अनावश्यक लम्ब्याएर डेढ महिना खेर फालिएकोसमेत उल्लेख गरेको छ । 

उसले अहिले भएको महाधिवेशनको मिति घोषणा विशेष महाधिवेशनलाई निस्तेज पार्न खोजिएको हो वा वास्तवमै महाधिवेशन गर्न खोजिएको हो भन्दै प्रश्न उठाएको छ । यसको जवाफ समयक्रमले दिनेसमेत अभियानले उल्लेख गरेको छ । 

अभियानले महाधिवेशन सम्पन्न गर्नु संवैधानिक, राजनीतिक र नैतिक दायित्व भएको भन्दै यो दायित्व पूरा गर्न कोही पनि पछि हट्न नहुनेसमेत बताएको छ । 

यस्तो छ साझा धारणा र अपील-
 
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मंसिर १५ गतेको निर्णयप्रति विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट जारी साझा धारणा एवम् अपील
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको २०८२ मंसिर १५ गते बसेको बैठकले गरेको पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका र अन्य निर्णयहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामीले १५ औं महाधिवेशनलाई समयमै सम्पन्न गर्नुपर्छ भन्ने माग गत महासमिति बैठकदेखि स्पष्ट रूपमा राख्दै आएका छौं । 

गत भाद्र २३–२४ पछिको गम्भीर राजनीतिक संकटका बेला पनि हामीले तत्काल केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनको ठोस कार्यतालिका बनाउनुपर्छ भनेर जोडदार आवाज उठाएका थियौँ । तर, विडम्बना केन्द्रीय नेतृत्वले महाधिवेशनप्रति देखाएको उदासीनता र ढिलासुस्तीले पार्टीको आन्तरिक जीवनलाई गम्भीर सङ्कटतर्फ धकेलेको यथार्थलाई हामी सवैले महसुस गरेका छौं । यही वास्तविकताबाट निर्देशित हुँदै, हामी २,४८८ जना (कूल महाधिवेशन प्रतिनिधिको ५४.८ प्रतिशत) ले गत असोज २९ गते पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएका थियौँ । 

यो निवेदन केवल दबाबको अस्त्र मात्र थिएन, यो त समयमै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय समितिको वैधानिक दायित्वको स्मरण पनि थियो । एकातिर देश गम्भीर राजनीतिक सङ्कटको भूमरीमा फसिरहेका बेला पनि केन्द्रीय समिति मौन बस्नु, अर्कोतिर असोज २८ मा सुरु भएको बैठकलाई अनावश्यक रूपमा मंसिर १५ सम्म लम्ब्याएर उपलब्ध एक महिना १८ दिन खेर फालियो । अन्ततः विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षरको दबाब स्वरूप १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भएकोमा हामीले यसलाई सकारात्मक उपलब्धीका रूपमा लिएका छौं । यो 

घोषणा विशेष महाधिवेशलाई निस्तेज पार्न गरिएको हो ? वा वास्तवमै महाधिवेशन गर्न खोजिएको हो ? समयक्रमले नै जवाफ दिनेछ ।

हामी सबै जानकार छौं – गत भाद्रमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ मा आम निर्वाचन गर्ने मिति घोषणा गरिसकेको छ । त्यसअघि नै नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्नु हाम्रो संवैधानिक, राजनीतिक र नैतिक दायित्व हो । यो दायित्व पूरा गर्न हामी कोही पनि पछि हट्नु हुदैन, पछि हट्ने छैनौँ ।

केन्द्रीय समितिले प्रस्ताव गरेको पुस २६ - २८ को महाधिवेशन मिति पूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक देखिएको छ ।

हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौं, कुनै पनि वहाना वा अवस्थामा अधिवेशनका श्रृंखलाहरू अवरूद्द गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान वमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ ।

पौष २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहदा माघ मसान्त सम्म केन्द्रिय समितिको समयावधि थप्नुको उद्धेश्य के हो ? यसले समयमै अधिवेशन सम्पन्न हुदैन भन्ने संसयलाई आधार दिएको छ । यस विच हुने आमचुनावका विभिन्न सिफारिसहरूको अवस्था के हुन्छ ?

यसको निष्पक्षता र वैधताको आधार के हो ? यसलाई गंभिरतापूर्वक हेरिरहेका छौं । लोकतान्त्रिक दलका लागि आवधिक महाधिवेशन केवल विधानको दायित्व मात्र होइन, यो त पार्टीको आन्तरिक लोकतन्त्रको श्वास, नयाँ पुस्ताको ऊर्जा र नेतृत्व नवीकरणको अनिवार्य प्रक्रिया हो ।

यो त पार्टीलाई नागरिकको बदलिंदो आकाङ्क्षासँग जोड्ने सेतु हो, नीति र नेतृत्व दुवैलाई समयको मागअनुरूप परिमार्जन गर्दछ ।
अन्त्यमा, देश तथा विदेशमा रहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथिहरू, समर्थक एवम् शुभेच्छुकहरूलाई यस विचमा उत्पन्न हुन सक्ने हरेक प्रतिकुलताको सामना गर्दै एकजुट भएर १५ औं महाधिवेशनलाई समयमै सम्पन्न गर्न सक्रियतापूर्वक सहभागी हुन अनुरोध गर्दछौँ ।

यदि उक्त समयमा महाधिवेशन सम्पन्न नभएमा विशेष महाधिवेशनको लागि तयार रहन समेत हार्दिकतापूर्वक आह्वान गर्न चाहन्छौँ । १५ औं महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरुको हस्ताक्षरको परिणाम हो ।

यसका लागि हस्ताक्षरकर्ता सम्पूर्ण साथिहरूलाई हार्दिक आभार प्रकट गर्दछौं । साथै, पार्टीको समग्र सुधार, रुपान्तरण र पुनर्गठनका लागि तपाईहरूको साथ र समर्थन सधै रहिरहने विश्वास व्यक्त गर्दछौँ ।
जय नेपाल !
मिति : २०८२ मंसिर १५

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ