यस्तो आयो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा [पूर्णपाठ]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
843
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
सोअनुसार विदेशी पर्यटकको आगमन बढेको छ । वस्तु आयातको वृद्धि कोभिडपूर्वको अवस्थामा पुगेको छ भने निर्यातमा समेत उल्लेख्य सुधार आएको छ ।
विप्रेषण आप्रवाहको बढोत्तरीले विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । मुद्रास्फीति लक्ष्यभन्दा न्यून छ । समग्र वित्तीय स्थायित्व कायम रहेको छ । बैकिङ क्षेत्रमा प्रचुर तरलता छ भने ब्याजदर न्यून छ । यद्यपि कर्जा विस्तार अपेक्षित रूपमा हुन सकेको छैन ।
जलवायु परिवर्तन र प्राकृतिक प्रकोपबाट पनि विश्व अर्थतन्त्रमा चुनौती थपिएको छ । फलस्वरूप विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२४ मा ३.३ प्रतिशत रहेकोमा सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा ३.१ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण छ ।
सन् २०२४ मा १.८ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन् २०२५ र सन् २०२६ दुवै वर्ष १.६ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२४ मा ४.३ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन्२०२५ मा ४.२ प्रतिशत र सन्२०२६ मा ४.० प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ ।
२०८२ असोजमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । तरकारी, मसला, दाल तथा गेडागुडीको मुद्रास्फीति ऋणात्मक भएका कारण खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि २०८२ असोजमा २.५४ प्रतिशतले ऋणात्मक रहेको छ । गैर–खाद्य तथा सेवा समूहका मुद्रास्फीति भने ३.८० प्रतिशत रहेको छ ।
२०८२ असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.३२ प्रतिशत रहेको छ । यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा ५.५१ प्रतिशत रहेको थियो । यस अवधिमा तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो ।
नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) को तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा संघीय सरकारको कुल खर्च १०.८ प्रतिशतले र राजस्व परिचालन ०.३ प्रतिशतले बढेको छ । यस अवधिमा नेपाल सरकारको कुल खर्च रु.३६४ अर्ब ५९ करोडमध्ये चालु खर्च रु.२५६ अर्ब ८१ करोड, पँुजीगत खर्च रु.१९ अर्ब १८ करोड र वित्तीय व्यवस्था खर्च रु.८८ अर्ब ६० करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.२४९ अर्ब ५ करोड रहेको छ । यस अवधिमा नेपाल सरकारलेरु.९० अर्ब आन्तरिक ऋण र रु.१६ अर्ब ३३ करोड बाह्य ऋणसमेत गरी कुल रु.१०६ अर्ब ५५ करोड ऋण परिचालन गरेको छ ।
आर्थिक वृद्धिलाई सहयोग पुर्याउने मूलभूत उद्देश्यका साथ आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति २०८२ असार २७ गते सार्वजनिक गरिएको थियो । मौद्रिक नीति जारी भएपश्चात्राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको छ ।