एमाले महाधिवेशनका लागि सर्लाहीबाट २२ जना प्रतिनिधि सर्वसम्मत् चयन
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
3.2k
Shares
काठमाडौँ । नेकपा (एमाले) को आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने ११औं केन्द्रीय महाधिवेशनमा मतदान अधिकारसहित सहभागी हुनका लागि सर्लाही जिल्लाबाट २२ जना प्रतिनिधि सर्वसम्मतरूपमा चयन भएका छन्।
महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य र पूर्व रक्षा मन्त्री हरिप्रसाद उप्रेतीको नेतृत्वमा केन्द्रीय सदस्य कमलादेवी महतो, रन्जना सरकार, कल्पना कुमारी कटुवाल र जिल्ला अध्यक्ष राजनारायण साह सहित पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। ७४ जनाले उम्मेदवारी दिए पनि कार्यकर्ताहरूको सुझावपछि सहमतिमै प्रतिनिधि टुङ्गो लगाउने निर्णय भएको हो। एमाले सर्लाहीका अनुसार प्रतिनिधि छनोट प्रत्यक्ष निर्वाचनबाट नभई सहमतिका आधारमा गरिएको हो। कार्यदलले चारै क्षेत्रका खुल्ला, महिला, युवा तथा दलित कोटालाई समेटेर २२ प्रतिनिधिहरूको सूची टुंगो लगाएको जनाएको छ।
चयन भएका प्रतिनिधिहरूमा खुल्लातर्फ मनोज कुमार देवकोटा, प्रकाश थापा, माधव सरकार, राज नारायण साह, जय प्रकाश यादव, विदुर कुमार प्याकुरेल, गणेश प्रसाद प्रसाई, रेवती रमण पन्त, माधव प्रसाद कोईराला र जयलाल सहनी छन्। महिलातर्फ एकावती देवी चौधरी, शान्ती कुमारी लामा, राधिका खतिवडा, रेणु पासवान, सरिता घिसिङ, सारदा कुमारी उप्रेती र लालवती देवी राय चयन भएका छन्। युवातर्फ उज्वल कुमार कार्की, रौनित साह, मोहन बहादुर रेग्मी र रवि शंकर सिंह कुशवाहा रहेका छन् भने दलिततर्फबाट रामचन्द्र चमार चयन भएका छन्।
स्रोतका अनुसार महाधिवेशनमा पार्टी अध्यक्षका लागि वर्तमान अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आकांक्षी रहेका छन्। सर्लाहीमा ओली पक्षको पकड पोखरेल समूहभन्दा बलियो रहेको बताइएको छ।