arrow

घर जग्गा कारोबारको इजाजतपत्र आवेदनका लागि म्याद थप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
plotting-land-sold.jpg

काठमाडौँ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र (लाइसेन्स) लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ।

विभागले अब यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो। यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि आह्वान गरेको थियो। मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम घरजग्गा कारोबारलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागिएको हो। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो र विभागले पहिलो चरणमा महानगरपालिका र उपमहानगरपालिकालाई कार्यक्षेत्रका रूपमा परिभाषित गरेको छ।

विभागले एक पटकमा रु तीन करोड भन्दा बढीको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाले आवेदन दिन सकिने प्रबन्ध गरेको थियो। यसअघि प्रकाशित सूचनाअनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले विभागले गत शुक्रबारदेखि लागू हुने गरी म्याद थप गरेको जनाएको छ। विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगरपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ।

विभागका अनुसार गत कात्तिक महिनामा घरजग्गा कारोबारबाट कुल रु २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व सङ्कलन भएको थियो। जसमा रजिष्ट्रेशन शुल्क रु १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४, पूँजीगत लाभकर रु ९९ करोड ७८ लाख ४४ हजार ३९२, र सेवा कर रु २१ करोड ३४ लाख ४७ हजार ४१३ बराबर सङ्कलन भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ