काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एघारौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्न चाहनेहरूका लागि मतदानबाटै पदाधिकारी चयन हुने बताएका छन्।
आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। महाधिवेशनमा सङ्गठनात्मक विषय र राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताउँदै उनले विधानमा ठूलो परिवर्तन गर्नुपर्ने केही नरहेको भए पनि आवश्यक परे केही छोटो विधिबाट गर्न सकिने स्पष्ट पारे।
अध्यक्ष ओलीले उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा अघि बढाउन आह्वान गरे। महाधिवेशन पुनःगठन, पुनःसंरचना, रूपान्तरण र पुस्तान्तरणको थलो भएको बताउँदै उनले सकेसम्म सहमतिका आधारमा पदाधिकारी टुङ्ग्याउन आग्रह गरे। तर, सर्वसम्मति हुन नसके मतदान अनिवार्य हुने पनि स्पष्ट पारे। उनले कसैलाई अघि बढ्न नदिई रोक्ने काम नहुने र प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग प्रतिस्पर्धा गर्न पाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्षका हैसियतले आफ्नो आग्रह सहमतिका साथ नेतृत्व चयन गर्नुमा रहे पनि एमालेले प्रतिस्पर्धालाई नराम्रो नमान्ने र आफूहरूले रोजेरै प्रतिस्पर्धाको तरिका ल्याएको उनले बताए। उनले एकतावद्ध भएर महाधिवेशनमा जान र कसैलाई अपमान नगरी परस्परमा सम्मानको संस्कृति विकास गर्न पनि आग्रह गरेका छन्।