काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेका छन् ।
शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै दाहालले आफूले संसद विघटन गर्दा ठिक भन्ने ओली अहिले संसद पुनःस्थापनाको माग गर्दै 'बेतुकको तर्क' गर्दै हिँडेको आरोप लगाए।
उनले नेकपा (एमाले) का नेताहरूलाई मुलुक र नेपाली जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान समेत गरे।
उनले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलाई आफूले शुरुदेखि नै समर्थन गर्दै आएको उल्लेख गर्दै उनीहरूका जायज मागहरू सम्बोधन गर्न वाम एकता गरेको बताए। उनले केहीले निर्वाचन जित्नको लागि मात्र एकता गरेको भन्ने टिप्पणी गर्ने गरेको भन्दै त्यो कुरामा कुनै सत्यता नरहेको बताए। उनले कृषि, शिक्षा, स्वास्थ्यमा क्रान्ती ल्याउनको लागि कम्युनिष्ट तथा गैरकम्युष्टि पार्टीहरूलाई मिलाएर लैजाने अभियानको थालनी गरिएको बताए।