प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच के-के भए कुराकानी ?
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
3k
Shares
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा नेकपा (एमाले) का नेताहरूसँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार छलफल मुख्यतया भ्रष्टाचार नियन्त्रण, सुशासन र निर्वाचन केन्द्रित रहेको थियो। छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिँदै निर्वाचनमा सहभागि हुन आग्रह समेत गरिन्। प्रधानमन्त्रीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको कुरा राखेको मन्त्री खरेलले बताए।
जवाफमा नेकपा (एमाले)का नेताहरूले आफूहरू निर्वाचनबाट नभाग्ने भन्दै सरकारले निर्वाचनको लागि उचित वातावरण बनाउनुपर्ने धारणा राखेको मन्त्री खरेलले बताए। एमालेका नेता महेश बर्तौलाले एमालेले चुनावको निष्पक्षता र निर्भयताको वातावरण चाहेको विषय प्रधानमन्त्रीसमक्ष राखेको बताए। उनले सरकारले अहिले गरिरहेका क्रियाकलापले भयरहित ढंगले निर्वाचनमा जान सक्ने अवस्था नरहेको भन्दै निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गरेको बताए।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागि थिए। नेकपा (एमाले) बाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी थिए।