महेश बस्नेतमाथि विमानस्थलमै आक्रमणको प्रयास, दुई युवक पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
3.2k
Shares
विराटनगर । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ ।
आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए ।
घटनापछि सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका युवाहरू विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संयोग गौतम रहेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।
विमानस्थलमा खटिएका प्रहरी अधिकृतका अनुसार आक्रमणको प्रयास भए पनि बस्नेतलाई कुनै प्रकारको शारीरिक क्षति पुगेको छैन ।
घटनापछि विमानस्थल तथा इटहरीस्थित कार्यक्रमस्थल दुवै ठाउँमा सुरक्षाव्यवस्था कडा बनाइएको छ ।
बस्नेत भने आफ्नो तोकिएको कार्यक्रमका लागि इटहरीतर्फ प्रस्थान गरिसकेका छन् । इटहरीमा दिउँसो १ बजे कार्यक्रम रहेको छ ।