राष्ट्र बैंकले आज ८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
784
Shares
काठमाडौँ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आइतबार ८४ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। अहिले कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा केन्द्रीय बैंकले ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता खिच्न लागेको हो।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ फागुन ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने रकमलाई प्राथमिकता दिइनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ। यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।