जेन-जीको मागः प्रधानमन्त्रीकाे राजीनामा, ओली र लेखकलाई कारबाही
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
3.4k
Shares
काठमाडौँ । कमन जेन-जी नेपालले जेनजी पुस्ताको मागलाई पूरै वेवास्ता गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ ।
जेन-जीको हत्या र खर्बौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिलाई कानूनी कठघरामा उभ्याउनसमेत माग गरेको छ ।
कमन जेन-जी नेपालका अध्यक्ष विकेश साहले दुई महिना बढी भइसक्दा पनि जेनजीलाई दमन गर्ने केपी ओलीलाई पक्राउ नगर्दा उनीहरू पुनः बिद्रोहको आगो झोस्न उद्धत रहेको आरोप लगाए । साहले वर्तमान सरकारले जेन-जीको हत्या गर्ने भ्रष्टाचारीलाई कारबाही नगर्ने हो भने तत्काल राजीनामा दिन पनि माग गरे ।
केपी ओलीसहितका एमाले नतृत्वहरूले उत्तेजित बनाई अवस्थालाई विथोल्न खोजेको आरोप लगाउँदै साहले भने, ‘हत्यारा केपी ओलीको निर्देशनमा निर्दोश जेन-जीमाथिको दमनविरुद्ध संयुक्त रुपमा सम्पूर्ण जेनजी समूहहरू एकजुट भई प्रतिकारमा उत्रने कमन जेनजी प्रतिबद्ध छौँ ।’
पहिला देशका संयोजक एसीपी साहले हत्या र विध्वांसको मुख्य जिम्मेवार पूर्वप्रधानमन्त्री केपी ओली रहेको र उनीलगायतलाई कानूनी कठघरामा नउभ्याउँदा थप आक्रामक भएको बताए ।
जेन-जी नेपालका संयोजक कृष्णमोहन सहनीले बारामा जस्तै देशभरबाट एमाले नेता कार्यकर्तालाई लखेट्ने चेतावनी दिए ।
पहिला देशका सचिवालय सदस्य सुनील सिंहले हत्यारा र भ्रष्टलाई कानूनी कठघरामा ल्याउनुको सट्टा अभियान्ता डा.निकोलस भूसाललाई पक्रनुले आफूहरूलाई अक्रोशित बनाएको बताए ।
जेनजी प्रदीप साहले आफूहरूका माग तत्काल पूरा गर्न सरकारसँग माग गरे ।
जेन-जी उज्ज्वल शर्माले बारामा भएको घटना केपी ओली र एमालेको दम्भको कारण भएको र यसरी नै अघि बढे एमालेको पत्तासाप गरिदिने चेतावनी दिए ।
जेनजी इसान दुलालले जेन्जी टुटफूटमा रमाउने भन्दा एकजुट भए अगाडि बढ्न जोड दिए ।
कमन जेन-जीका मागहरूः
१) निकास र विकासमा असफल सुशीला कार्की सरकारको विघटन हुनुपर्छ ।
२) जेन-जीको नेतृत्वमा सर्वपक्षीय सरकार र अन्तरिम संविधान ।
३) जेन-जी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने ।
४) जेन-जी आन्दोलनकारीमाथिको दमन र धरपकड बन्द गरियोस ।
५) जेन-जी आन्दोलनका शहीद, घाइते परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने ।
६) जेन-जी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर ।