arrow

अनिर्णयको बन्दी बन्यो कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
deuba-congress-meeting-82-6-28.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेस अनिर्णयको बन्दी बन्दै गएको छ । गत कार्तिक २७ गतेपछि निरन्तर सार्दै केन्द्रीय कार्यसमितिको बैठकलाई अनिर्णयको बन्दी बनाउन खोजिएको छ । 

बैठक बिहीबारसमेत नबसेर अब शनिबार दिउँसो १ पार्टी मुख्यालय बीपीनगर सानेपामा बस्ने कांग्रेसले जनाएको छ  । कार्तिक २८ गते नै निर्णयमा पुग्नुपर्ने कांग्रेस नेतृत्वको नालायकीका कारण लम्बिइरहेको छ । 

पार्टीले बैठक लम्बिनु पर्ने कुनै कारणसमेत खुलाउन सकेको छैन । यो बैठक विशेषगरी बदलिँदो राजनीतिक परिस्थिति र पार्टीको महाधिवेशनको समय टुंगो लगाउन बसेकाले महाधिवेशन नरुचाएको संस्थापनले बैठकलाई पछाडि धकेल्न खोजेको हो । 

गत कार्तिक २७ गते महामन्त्रीद्धय र एक उपसभापतिले सम्बोधन गरेपछि २८ गते नै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय सुनाएर बैठक टुंग्याउनु पर्ने भए पनि विविध कारण देखाएर बैठक एक साता भन्दा बढी लम्बिएको छ । 

कार्यवाहक सभापति खड्काले बैठकलाई छलफलमै सहमति गरेर टुंग्याउनु पर्नेमा गत शनिबार बिहान सामाजिक सञ्जालमा सन्देश दिँदै ढिलै भए पनि सही निर्णय आउने भन्दै साथ सहयोगका लागि अपेक्षा गरेका थिए । 

बैठक स्थगित गर्दै कार्यवाहक सभापति खड्का संस्थापनको गुटको बैठकमा व्यस्त रहेका छन् । उनले ढिलै भए पनि सही निर्णय आउने आश्वासन दिए पनि सही निर्णय भनेको तत्काल पार्टीको महाधिवेशनको तयारी हो । 

समय बरबाद गरेर संस्थापन प्रतिनिधि सभाको निर्वाचनपछिमात्र महाधिवेशन गर्न प्रयासरत रहेको छ । गत साता नै कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा १८ दिनको उपचारपछि स्वदेश फर्किसकेको अवस्थामा उनीसँगसमेत सल्लाह लिएर खड्काले जतिसक्यो छिटो बैठक डाकेर महाधिवेशनको टुंगो लगाउनु पर्ने हो । 

पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने छलफल भएको छ । गत असोज २८ गते सभापति देउवाले कार्यकारी खड्कालाई सुम्पेर महाधिवेशन छिटै गर्न आग्रह गरेका थिए । 

अहिले कांग्रेसका लागि महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने उत्तम समय भएको भए पनि संस्थापनले अटेर गरिरहेको छ । अहिले कांग्रेस सत्तामा पनि छैन र प्रतिपक्षको भूमिकामा संसदमा खडा हुनुपर्ने पनि छैन । प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भइसकेको छ । 

जेन–जी आन्दोलनपछि पुराना दलहरुलाई हेर्ने नजरसमेत बदलिएको अवस्थामा कांग्रेसले आफूलाई परिमार्जित गर्दै समय सान्दर्भिक अगाडि बढ्न महाधिवेशन गरी नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने जोड चलिरहेको छ । 

संस्थापन इतरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गत असोज २९ गते नै बुझाएको थियो । सो मितिले पनि तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने पार्टीको विधानमा उल्लेख छ । 

त्यसलाई नकारेर संस्थापन जान मिल्दैन भन्ने संस्थापनलाई पनि थाहा छ । तर संस्थापन अझै पनि चुनावमा टिकट बाँडेरमात्र महाधिवेशन गर्ने ‘मुड’ मा रहेको आरोप छ । 

नियमित महाधिवेशन गर्दा पनि ०७८ मंसिरमा महाधिवेशन गरेको पार्टीले यही मंसिरको अन्तिममा महाधिवेशन गर्न सक्छ । महाधिवेशन प्रतिनिधिको मागअनुसार आगामी पुस २९ लाई नाघेर कांग्रेसले कुनै निर्णय गर्न सक्दैन । 

यस्तो अवस्थामा कांग्रेसले बैठक लम्ब्याएर भन्दा सही निर्णय सही समयमा गरेर महाधिवेशनमा होमिनुपर्ने सुझाव कांग्रेस बुद्धिजीवीहरूलेसमेत दिइसकेका छन् । 

आफूलाई निष्कलंक बताउँदै आएका कार्यवाहक सभापतिले कुनै पनि व्यक्ति वा गुटको पछि नलागी कांग्रेसको अस्तित्व जोगाउन सही निर्णय गरेनन् भने त्यसले परिणाम राम्रो नदिने निश्चित छ । 

संस्थापनकै २५ केन्द्रीय सदस्यलेसमेत चुनावअघि नै महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर बुझाइसकेका छन् । अब फेरि निर्णय गर्न केले ढिलाइ भएको हो भन्ने कार्यवाहक सभापतिले कुनै जानकारी दिएका छैनन् । 

यसअघि नै महामन्त्रीद्धयले कार्यतालिकासहित महाधिवेशनबारेको विचार सार्वजनिक गरिसकेका छन् । कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिने बताइसकेको अवस्थामा जनता सामु जान पनि नयाँ नेतृत्व र नयाँ एजेन्डा तय गरेरमात्र जानका लागि पार्टीभित्र दबाब छ । 

संस्थापनभित्र को हावी छ भन्ने खुल्न सकेको छैन । तर कार्यवाहक सभापति खड्का भने निरीह भएको स्पष्टै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ