काठमाडौँ। नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालन हुँदै आइरहेको नेपाल–अमेरिका स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रम (एलएफटी) को छैटौँ संस्करण आजदेखि यहाँ शुरु भएको छ।
जङ्गी अड्डामामा भइरहेको तीन दिने यस कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायत विषयहरूमा अनुभव तथा सहयोग आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उक्त कार्यक्रमका लागि नेपाल आएका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका टोली प्रमुख लेफ्टिनेन्ट जनरल स्कोट ए वीन्टरले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तानलगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। सेनाले यस्ता अनुभव आदानप्रदान कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाबीच रही आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छ।