राष्ट्र बैंकले ५० अर्बको दीर्घकालीन निक्षेप तान्दै
ब्याजदर बोलकबोलबाट निर्धारण हुने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
675
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्ने तयारी गरेको छ। वित्तीय प्रणालीमा निरन्तर अधिक तरलता कायम रहेपछि राष्ट्र बैंकले अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता तान्न लागेको हो। हाल कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ।
केन्द्रीय बैंकले आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको छ र यसको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले जानकारी दिएअनुसार, आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ माघ १८ गते भुक्तानी हुनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम रकम कुल आह्वान रकमसम्म हुनेछ। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने रकमलाई प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधि अनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। केन्द्रीय बैंकले यही व्यवस्था टेकेर पटक-पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।