सर्वोच्चको आदेशले मधेसको राजनीतिमा अन्योल, दुवै पक्षद्वारा जितको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
822
Shares
काठमाडौँ। मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मङ्गलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेस प्रदेशको राजनीतिमा अन्योल सृजना भएको छ।
मङ्गलबार (हिजो) सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। यो आदेशसँगै मुख्यमन्त्री यादवका समर्थक र विपक्षी दलहरू दुवैले आफ्नो पक्षको जित भएको भन्दै खुसीयाली मनाइरहेका छन्।
मुख्यमन्त्री यादवका समर्थक एमालेका सांसद, नेता तथा कार्यकर्ताहरूमा खुसी छाएको छ किनकि अदालतले उनलाई मुख्यमन्त्री पदमा भने तत्काल कायम रहने भनेको छ। सामाजिक सञ्जालमा उनीहरूले मुख्यमन्त्री यादवको जित भएको भन्दै बधाई दिइरहेका छन्।
यता जितेन्द्र सोनल पक्षका ७ राजनीतिक दलहरूले पनि अदालतको आदेशले आफूहरूको जित भएको भन्दै खुशियाली मनाइरहेका छन्, किनकि अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असर पर्ने निर्णय नगर्नु भनेको छ। जसपा नेपाल मधेस प्रदेशका सचेतक एवम् प्रदेश सभा सांसद राम अशिष यादवले अब प्रदेश सभामा मुख्यमन्त्री यादवले विश्वासको मत लिन आए उनलाई जवाफ दिने बताए।
सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हिजो अन्तरिम आदेश जारी गर्दै मङ्सिर ११ गतेका लागि अन्तिम सुनुवाइ तोकेको छ र उक्त मितिमा पूर्ण इजलासमा मुद्दा पेस गर्ने निर्णय गरेको छ। अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यो आदेश लागू हुने उल्लेख गरेको छ।
मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति संविधानसम्मत नरहेको भन्दै ७ दलका ७४ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए।