नेतृत्वलाई चुनावी मिति सार्वजनिक गर्न सिन्धुली कांग्रेस अन्तरपालिका समितिको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३० आइतबार
3.5k
Shares
फाइल तस्बिर
सिन्धुली। नेपाली कांग्रेस अन्तरपालिका समिति सिन्धुलीले पार्टीभित्र तीव्र बन्दै गएको असन्तुष्टि, जेनजी उमेर समूहको आन्दोलन तथा विशेष महाधिवेशनको मागलाई समर्थन गर्दै एक वक्तव्य सार्वजनिक गरेको छ।
आन्दोलनमा शहीद भएका युवाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरु गरिएको उक्त वक्तव्यमा, आन्दोलनका क्रममा देखिएको अमानवीय व्यवहार, राज्य शक्ति प्रयोग र युवामाथि दमन गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।
वक्तव्यमा भनिएको छ, “जेनजी उमेर समूहका हजारौँ युवाले देशमा राजनीतिक स्थायित्व र परिवर्तनको आशामा उठाएको आवाजलाई बेवास्ता गर्न मिल्दैन। पार्टी नेतृत्वले यही सन्देशलाई मनन गर्दै अब चुनावमा जाने तयारी थाल्नुपर्छ।”
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचित ४५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित दिएको हस्ताक्षरलाई नेतृत्वले नजरअन्दाज नगर्न चेतावनी दिँदै वक्तव्यमा थप भनिएको छ, “यदि पार्टी केन्द्रीय समितिले विशेष महाधिवेशनको माग सम्बोधन गरेन भने, आगामी निर्वाचनसम्बन्धी निर्णय तत्काल सार्वजनिक गर्नैपर्ने बाध्यता पार्टी नेतृत्वमाथि पर्छ।”
२०७८ फागुन २९ गते घोषणा गरिएका निर्वाचनको मिति राजनीतिक स्थायित्वका लागि उत्तम विकल्प भएको भन्दै सिन्धुली कांग्रेस अन्तरपालिकाले पार्टी नेतृत्वलाई निर्मल, स्पष्ट र जनभावनासँग मेल खाने कदम चाल्न आह्वान गरेको छ।
वक्तव्यमा कमल पोखरेल, बलराम कार्की, रामबहादुर खड्का, सोमप्रसाद भिमिरेलगायत आठ स्थानीय तहका सभापतिहरूको सामूहिक हस्ताक्षर रहेको छ।