काठमाडौँ। वैदेशिक रोजगारीको सपना देखाएर मोरङका दर्जनौँ परिवारबाट लाखौँ रुपैयाँ ठगी गर्ने कपिलवस्तुका एक व्यक्ति सञ्जीव खरेल अहिले सम्पर्कविहीन भएका छन्। स्पेनमा आकर्षक कमाइ हुने प्रलोभनमा परेर कतिपय पीडितहरूले आफ्नो जीविकोपार्जनको स्रोतसमेत बेचेर पैसा बुझाएका थिए।
सुन्दरहरैंचाकी चन्द्रमा खनाल भन्छिन्, "भिसा आयो भन्दै डेढ लाखका लुगा किन्न लगायो, अहिले बुझ्दा पो ठगिएका रहेछौँ।" ५७ वर्षीया निलादेवी खनाल र उनका श्रीमानले छोरी र ज्वाइँलाई विदेश पठाउन छिमेकीको सिफारिसमा विश्वास गरेर सञ्जीव खरेललाई १६ लाख रुपैयाँ बुझाएका थिए। खरेलले उनीहरूलाई दिल्ली र काठमाडौँ लगेर 'स्पेनको भिसा आउँदैछ' भन्दै १७ दिनसम्म होटेलमा राखेपछि सम्पर्क तोडेका थिए। निलादेवी भन्छिन्, "साँवा त जसोतसो तिरौला, ब्याजले त डाँडा काट्ने रहेछ।"
बेलबारी–४ का किसान ताराप्रसाद भट्टराईले स्पेनमा महिनामा दुई लाख कमाइ हुने लोभमा १० वटा गाई बेचेर ६ लाख रुपैयाँ बुझाए। खरेलले उनलाई बार्सिलोना पछाडिको पृष्ठभूमि राखेर भिडियो अन्तर्वार्ता लिने नाटक गरेका थिए। "गाई पनि गयो, पैसा पनि गयो," भट्टराईले निराश हुँदै भने। कतारमा बारिस्ता काम गरिरहेकी शशिता दनुवारले पनि स्पेनको लोभमा परेर सुन बेचेर ८ लाख रुपैयाँ बुझाइन्। दशैंको अघिल्लो दिन भिसा आयो भनेपछि काठमाडौँ गएकी उनले ११ दिनपछि न भिसा पाइन्, न राहदानी।
यसैगरी, सुन्दरहरैंचा–९ का ग्रिल व्यवसायी गोविन्द दहालले पनि राम्ररी चलिरहेको व्यवसाय बेचेर स्पेनको तयारीमा ९ लाखभन्दा बढी खर्च गरे। नवमीको दिन परिवारसँग उत्साहसहित बिदा भएर भोलिपल्टै स्पेन उड्ने योजना थियो, तर उनको सपना ठगीको जालमा पऱ्यो। उनी भन्छन्, "सपना त स्पेनको थियो, तर गन्तव्य ठगीको बन्यो।"
पीडितहरूका अनुसार, सञ्जीव खरेलले सम्पर्कका लागि फोन मात्र नभई वाट्सएप, भाइबर, टेलिग्राम र फेसबुक मेसेन्जर जस्ता डिजिटल माध्यमहरू प्रयोग गर्थे। उनले भारतमा समेत सोही नाममा आधार कार्ड बनाएको र पैसा कहिले आफ्नै त कहिले अरूको बैंक खातामा हाल्न लगाउने गरेको पीडितहरूले बताएका छन्। उनी सामाजिक सञ्जालमार्फत प्रस्ताव राख्ने, 'भिसा प्रक्रिया सुरु भयो' भन्दै दिल्ली र काठमाडौँ बोलाउने, फेक भिसा देखाउने, अन्तर्वार्ता लिने नाटक गर्ने र डेढ लाखका लुगा किन्न लगाउने तरिकाले ठगी गर्थे।
पीडितहरूले अहिले सामूहिक रूपमा कानुनी परामर्श लिएर वैदेशिक रोजगार विभागमा उजुरीको तयारी गरेका छन्। शशिता दनुवार भन्छिन्, "हामी विदेशमा दुःख गरेर पठाएको पैसा पनि ठगले लुटे। अब अरू नफसुन् भन्ने चाहना मात्रै छ।"