पूर्वराष्ट्रपति युनसुकमाथि लाग्यो शत्रुलाई सहयोग गरेको अभियोग
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
2k
Shares
काठमाडौँ । दक्षिण कोरियाली अभियोजनकर्ताहरूले सोमबार पूर्व राष्ट्रपति युन सुक येओलमाथि ‘शत्रुलाई सहयोग गरेको’ नयाँ अभियोग लगाएका छन् । उनीमाथि उत्तर कोरियाको राजधानी प्योङयाङमा प्रचार पर्चा खसाल्ने उद्देश्यले ड्रोन उडानको आदेश दिएको आरोप लगाइएको हो ।
गत वर्ष उत्तर कोरियाले दक्षिण कोरियाबाट प्योङयाङमाथि प्रोपोगान्डा पर्चा खसालिएको कुरा ‘प्रमाणित’ भएको दाबी गरेको थियो । यद्यपि सियोलको सेनाले यसबारे कुनै पुष्टि गरेको थिएन ।
यस घटनापछि दक्षिण कोरियाली अभियोजन पक्षले विशेष अनुसन्धान सुरु गरेको थियो । यसको उद्देश्य ड्रोन पठाउने कार्य उत्तरलाई उक्साउने र त्यसपछि मार्सल ल (सैन्य शासन) घोषणा गर्ने बहानाको रूपमा प्रयोग गर्ने अवैध षड्यन्त्र त होइन भनेर पत्ता लगाए ।
राज्य अभियोजक पार्क जी-यङले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने, “विशेष सल्लाहकार टोलीले पूर्व राष्ट्रपति युनमाथि शत्रुलाई फाइदा पुर्याउने कार्यमा संलग्न भएको र आफ्नो शक्तिको दुरुपयोग गरेको अभियोग लगाएको छ ।”
पार्कका अनुसार युन र उनका नजिकका सहयोगीहरूले ‘आपतकालीन मार्सल ल घोषणा गर्न मिल्ने परिस्थितिको सिर्जना गर्ने षड्यन्त्र’ गरेको थियो । यस कदमले अन्तर-कोरियाली सशस्त्र टकरावको जोखिम बढाएर राष्ट्रिय हितमा क्षति पुर्याएको ठहर गरिएको छ ।
अभियोजनकर्ताहरूले ठोस प्रमाणका रूपमा गत वर्ष अक्टोबरमा युनका तत्कालीन प्रति-गुप्तचर कमान्डरद्वारा तयार पारिएको एक मेमो उद्धृत गरेका छन् । सो मेमोमा ‘राजनीतिक अस्थिरता सिर्जना गर्न वा उत्पन्न हुने अवसरलाई कब्जा गर्न’ निर्देशन दिइएको उल्लेख छ। साथै, त्यसमा सेनालाई उत्तर कोरियालाई अनुहार गुमाउने अवस्थामा पुर्याउने गरी ‘प्योङयाङ’ वा प्रमुख तटीय सहर ‘वोनसन’ जस्ता स्थानहरूमा लक्षित आक्रमण गर्न सुझाव दिइएको छ ।
सियोल र प्योङयाङ सन् १९५० देखि १९५३ सम्मको कोरियाली युद्धपछि शान्ति सम्झौता नभई केवल युद्धविराममा पुगेका कारण आज पनि औपचारिक रूपमा युद्धको अवस्थामै रहेका छन् ।
गत वर्ष डिसेम्बरमा युनले नागरिक शासन भङ्ग गर्ने प्रयास गरेपछि देश राजनीतिक सङ्कटमा फस्यो । उनले मार्सल ल घोषणा गर्न संसद्मा मतदान रोक्नका लागि सशस्त्र सैनिकहरू पठाउन आदेश दिएको आरोप छ ।
उक्त प्रयास असफल भएपछि जनवरीमा बिहानको समयमा सुरक्षाकर्मीहरूले उनलाई गिरफ्तार गरे, जसले गर्दा उनी दक्षिण कोरियाको इतिहासमा पदमा रहँदै पक्राउ परेका पहिलो राष्ट्रपति बने ।
यसपछि अप्रिलमा संसद्ले उनलाई औपचारिक रूपमा पदमुक्त गर्यो र जुन महिनामा सम्पन्न आमचुनावमा मतदाताहरूले विपक्षी नेता ली जे म्युङलाई नयाँ राष्ट्रपति चयन गरे ।
पूर्व राष्ट्रपति युन अहिले विद्रोह, शक्तिको दुरुपयोग र मार्सल ल घोषणा प्रयत्नसँग सम्बन्धित गम्भीर आपराधिक अभियोगहरूमा अदालतमा मुद्दा खेपिरहेको छ । अभियोजन पक्षका अनुसार यस्ता कार्यहरूले राष्ट्रिय सुरक्षालाई मात्र नभई दक्षिण कोरियाको लोकतान्त्रिक मूल्यमान्यतालाई समेत गम्भीर चुनौती दिएका छन् । एजेन्सी