पार्टीको केन्द्रीय समिति बैठकमा महाधिवेशन सम्बन्धी विषयमा आजसम्म हाम्रो परम्परा, जानेको र बुझेको भनेको महामन्त्रीजीले जे प्रस्ताव गर्नुभो त्यो नै आधिकारिक प्रस्ताव हो । त्यसलाई आधिकारिक मान्ने होइन र अरु पनि विचार छन्, आउँछन् भन्ने हो भने म पनि एउटा प्रस्ताव केन्द्रीय समिति बैठक समक्ष राख्न चाहन्छु ।
छोटो समयमा महाधिवेशन सम्पन्न गर्नु छ । चुनावको सम्मुखमा छौँ । धेरै साथीका बीचमा घर्षण पैदा गरेर, प्रतिस्पर्धा गरेर, तँ र म भनेर जान जायज पनि छैन । चुनावको तयारीका लागि प्रशस्त समय दिनु छ । चुनाव पहिलो लक्ष्य बनाएर जानु छ त्यो सत्य पनि हो । यो सबै सन्दर्भ हेर्दाखेरी नेपाली कांग्रेसको विधानमा व्यवस्था भएको १७ (२) अनुसारको मंसिर २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको विरंगना मंगलादेवी सिंहको जन्म जयन्ति पर्दछ । त्यस दिनबाट शुरू हुने गरेर विशेष महाधिवेशन आयोजना गरौँ । र त्यो विशेष महाधिवेशन आयोजना गर्नका लागि विधानले प्रष्ट भनेको छ । अफ्ट्यारो पर्यो, विशेष परिस्थिति आयो, समस्या पर्यो भनेर बाटो फुकाउनका लागि त विधानले व्यवस्था गरेको हो । केन्द्रीय कार्यसमितिले आवश्यक आवश्यक ठानेमा वा ४० प्रतिशत हस्ताक्षर भएमा विशेष महाधिवेशन आह्वान गर्न सकिन्छ । यहाँ वा भन्ने तिर नजाउँ र जाने अवस्था नै नबनाउँ । केन्द्रीय समितिले नै आवश्यक ठान्यो भने ठान्यो । यहाँ ५५ प्रतिशत र ४५ प्रतिशत पनि कुरा गर्नुपरेन, हस्ताक्षर को-कोले गरे भन्नु पनि परेन । सबैलाई समेटेर सिंगो केन्द्रीय कार्यसमितिले नै आयोजना गरेपछि शतप्रतिशत हुन्छ । अहिलेको विद्यमान समस्याको निकास पनि यही हो । हामी पार्टी एकताको कुरा गर्छौँ, एकता यसैले बनाउँछ, राष्ट्रिय एकता मेलमिलापको गतिलाई बोक्ने भन्छौँ यो भन्दा राम्रो गति के हुन्छ ?
हामीले एउटा सत्य कुरा त स्वीकार त गर्नै पर्छ । जब विधानतः साथीहरूले हस्ताक्षर गरेर पार्टी सभापतिज्यूको हातमा राखिसकिएको, दर्ता भइसकेको छ, प्रक्रिया शुरू भइसकेको छ भनेपछि त हामी त्यो हस्ताक्षरको विरुद्ध भित्र परिसक्यौँ । केन्द्रीय समिति महाधिवेशनभन्दा ठूलो होइन, महाधिवेशन नै ठूलो हो । महाधिवेशनको घेराभित्र हामी परिसक्यौँ भनेपछि हामीले अरु कुरामा निर्णय गर्ने हो गरौँ तर हामी हस्ताक्षरको विरुद्ध भित्र परिसक्यौँ भनेपछि त त्यसको निर्णय हामीले दिने हो । यत्रा देशभर र देशबाहिरका साथीहरूले हस्ताक्षर गर्नुभएको छ । त्यसलाई लत्याएर अघि बढ्न सकिन्छ त ? त्यसकारण हामी हस्ताक्षरको विरुद्ध भित्र परेका छौँ, त्यसमा हामीले सबैको भावना समेट्दै र अहिलेको परिवेशलाई महसुस गर्दै केन्द्रीय समितिले नै मंसिर २४ देखि महाधिवेशन आयोजना गरौँ । यो नै सबैभन्दा सहज समाधान हो, कसैले तेरो र मेरो भनेर प्रतिष्ठाको बिषय बनाउन जरुरी छैन । अब जति ढिला गर्छौँ तिक्तता बढ्दै जान्छ । काठमाडौँमा कुन दिन कस्को, कुन भेला भनेर दिनदिनै सुनिरहेका छौँ । ती सबै हाम्रा साथीहरू हुन् नि । यो तिक्तता बढाउने काम नगरौँ, शीघ्रभन्दा शीघ्र विशेष महाधिवेशनमा जाने निर्णय केन्द्रीय कार्यसमितिबाटै सर्वसम्मतबाट गरौँ । समस्या समाधान गर्न मनभित्रैबाट संकल्प गरौँ । हामी आफैले भोलि विशेष महाधिवेशनबाट अनुमोदन गर्ने गरी सबै प्रतिनिधिसभा क्षेत्रबाट कम्तीमा चार महिलासहित सात जना प्रतिनिधि पठाउन भनौँ, सहभागी गराऔँ । जेनजी नै जेनजीमय हुन्छ भने पनि होस् के फरक पर्छ र ?
अर्को कुरा, पार्टीका पूर्वपदाधिकारीज्यूहरूलाई एउटा आग्रह छ, कृपया तपाईंहरूले आफैले पोजिसन लिने होइन तपाईंहरूले समाधान दिने हो । हामीले नजानेर कुनै कुरामा समूह बनाउन थालेछौँ भने पनि सम्झाउन पर्छ, विभिन्न विकल्प दिनुपर्छ । तपाईंहरू अभिभावक हो, समाधान दिनुपर्छ । विशेष महाधिवेशन भनेर केही साथी कुदिरहनु भएको छ, पीडित, चिन्तित र आक्रोशित पनि हुनुहुन्छ र विभिन्न विकल्प पनि दिनुभएको छ । बहुमत साथीहरूले हस्ताक्षर गरेर प्रक्रिया पनि शुरू भएको छ । यसलाई हामीले रोक्न सक्दैनौँ । यो सोचौँ, भोलि ‘ज्या’ भनेर हुँदैन । हामीले त्यो रोक्ने अधिकार राख्दैनौँ । पार्टी विधान सबैका लागि बराबर हो । त्यसैले विकल्प खोजौँ, कसैलाई बिच्क्याउने काम नगरौँ । अहिले ४० बर्ष मुनिकाले ४० प्रतिशत भन्नुभाछ, यो ठीक माग हो, जायज माग हो । ४० बर्ष मुनिका साथीले ४० भन्नु भाछ भने ६० त अरुलाई नै छोडिदिनुभएको छ त । विशेष महाधिवेशनबाट जेनजी सबैको मैत्री नीति पारित गरौँ । कांग्रेसले हाम्रो आवाज सुन्यो भन्ने बनायौँ । चुनाव हाम्रो प्रथामिकता हो भने चुनावमा जाने योग्य नीति, नेता र कार्यक्रम बनाउनु पनि प्राथमिकता हो, बैठक यसैका लागि होइन र ? अब मेरो अनुरोध छ, दुईटामात्र सैद्धान्तिक भन्ने लेखेको संकल्प गरेर अघि बढ्ने हो भने तल तलका साथीहरूमा उर्जा भरिन्छ, घात, अन्तर्घातलगायत सबै कुरा हराउँछ । क्रियाशील सदस्यको प्रत्यक्ष निर्वाचनबाट तलका सभापति निर्वाचित गरौँ । र क्रियाशील सदस्यबाटै उम्मेद्वार तय गरौँ । जो तल साथीहरूका बीचमा बढी पपुलर हुनुहुन्छ उहाँले नै टिकट लानुहुन्छ र ती साथीलाई जिताउन अरु सबै खट्छन् । एउटा लोकतान्त्रिक पार्टीले आफूलाई व्यापक लोकतान्त्रिककरण गराउन सक्छ।
अन्त्यमा, नेपाली कांग्रेसका कतिपय नेता वा सदस्य माथि भ्रष्टाचार र गैरकानूनी अकुत सम्पति आर्जन सम्वन्धी दोषारोपण भइरहेको विषय पार्टी एवं कार्यकर्तालाई कत्ति पनि शोभनीय छैन। भ्रष्टाचार र सम्पत्ति छानविनको कुरा सधैँ उठ्छ, कुनै सरकारले कहिल्यै टुंगो लगाएन । हामी आँफै सरकारलाई के प्रस्ताव गरौँ भने, नेपाली कांग्रेसका नेता, मन्त्री र सदस्यमाथि लागेका सबैखाले भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गरिदेउ, आयोग बनाउन, शक्तिशाली आयोग बनाउ, त्यसले अरुलाई के हुन्छ थाहा छैन तर कमसेकम हाम्रा साथीमाथि लागेका दाग मेटाउन मद्धत पुग्छ । हामी भ्रष्टाचारी पार्टी पनि होइनौँ । त्यसैले हाम्रालाई छानविन गरिदेउ भनेर च्यालेञ्ज गरौँ सरकारलाई । अकूत सम्पत्ति कमाएको आरोप छ, हामी कसैले यो बीचमा कमाएका छौँ भने पनि छानविन गर भनौँ । हाम्रो गरिदेउन पहिला भनौँ र यसमा पार्टीले पूर्णरुपमा सहयोग गरौँ । जय नेपाल ।
(केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसको केन्द्रीय समिति बैठकमा राखेको धारणा)