कांग्रेसको मुद्दाः नियमित महाधिवेशनले मात्र जेन-जी पुस्ताको भावना समेट्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
953
Shares
काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमिति महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् ।
सरकारले फागुन २१ गते निर्वाचनका लागि मिति तय गरेपछि विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा अन्योलमा छ ।
बिहीबार काठमाडौँको बत्तिसपुतलीमा भेला भएका कांग्रेस नेताले नियमित महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन् ।
उनीहरूले १५औँ महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मको प्रक्रिया शुरू गर्नुपर्नेमा दबाब बढाएका छन् ।
कांग्रेस महासमिति सदस्य उपेन्द्र यादवले पार्टीभित्र फागुन २१ को निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने भन्नेमा बहस चलिरहेको बताए ।
महाधिवेशनका सन्दर्भमा पार्टीभित्रै फरक मत आएकाले केन्द्रीय समिति बैठकले यो विषयलाई एउटा आधार दिएर टुंग्याउनपर्ने सुझाव दिए । बिहीबारको भेला निर्वाचन केन्द्रित भएर जानुपर्छ भन्नेमा रहेको उनले जानकारी दिए ।
यादवले हाल मुलुकमा भएका समस्या समाधान गर्नका लागि पार्टीको तयारी, भावी एजेण्डा, कार्यक्रम तय गरेर केन्द्रीय बैठकले ठोस निर्णय दिएर अघि बढ्नुपर्ने बताए ।
उनले प्रविधिक र राष्ट्रिय परिस्थितिले साथ नदिएमा समयवधि थपेर महाधिवेशन सम्पन्न गराउने कुरा विधानमै व्यवस्था रहेको औँल्याए ।
उनले अहिले अधिवेशनको विषयलाई लिएर अनावश्यक बहस गर्ने नभई एकताबद्ध भएर सबै नेताले साझा एजेण्डा लिएर अघि बढ्नुपर्ने बताए । जेन-जीले उठाएका विषयलाई सम्बोधन गर्नुपर्ने उनले जोड दिए ।
त्यस्तै महाधिवेशन प्रतिनिधि कमला हमालले कांग्रेस पार्टी ठूलो भएकाले फरक फरक विचार राख्नेको संख्या पनि ठूलो हुने भएकाले महाविधेशनका सन्दर्भमा तर्कवितर्क हुनु जायज भएको बताइन् ।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य अनिल भोजुले निश्चित समय तालिका भित्रै रहेर कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने भन्दै समयमै महाधिवेशन नभए केन्द्रीय समिति भंग गर्नुपर्ने बताए ।
उनले केन्द्रीय समिति भंग भएपश्चात् तदर्थ समिति गठन गरी त्यसमा ५० प्रतिशत युवा पुस्तालाई समेटेर तदर्थ समिति गठन गरेर अधिवेशनमा जानुपर्ने औंल्याए ।
उनले विशेष महाधिवेशनले कुनै पनि हालतमा नयाँ पुस्तालाई समेट्न नसक्ने बताए । उनले जेनजीहरु समेटेर अब १५औँ महाधिवेशन हुनुपर्नेमा जोड दिए । उनले नयाँ पुस्ता र पुराना दुवै पुस्ता अहिलेको आवश्यकता रहेको बताए ।
महासमिति सदस्य नवीन राईले हालको परिवर्तन सँगसँगै पार्टीको अधिवेशन र संगठनात्मक संरचनाका कुरालाई पूर्णता दिनका तत्काल काम गर्नुपर्ने बताए ।
उनले केही नेताहरूले विशेष महाधिवेशन गर्नुपर्छ भनेता पनि नियमित महाधिवेशनमा नै जानपर्ने आफ्नो माग रहेको बताए ।
उनले नियमित महाधिवेशनका कारण वडादेखि केन्द्रसम्म नयाँ व्यक्ति जोडिने भएकाले जेन-जीको भावनासमेत जोडिने दाबी गरे ।