एमाले महाधिवेशन तयारी तीव्र: मङ्सिर १३ मा देशभर एकसाथ
दुई हजार एक सय २७ प्रतिनिधि चयन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
3.3k
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन (अपानि) जारी भएसँगै मातहतका कमिटी र सङ्गठनहरूले आवश्यक तयारी सुरु गरेका छन्। एमाले सचिवालयले महाधिवेशनका लागि प्रतिनिधि चयन देशभर आगामी मङ्सिर १३ गते एकसाथ हुने जनाएको छ।
कुल २,१२७ प्रतिनिधि कायम गर्नेगरी यही कात्तिक १५ गतेको एमाले सचिवालय बैठकले निर्णय गरेको थियो। महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले पार्टी सदस्यताको सङ्ख्या अनुपातमा विभिन्न क्षेत्र छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको र उक्त मापदण्ड कार्यान्वयनका लागि मातहतका जिल्ला कमिटी र जनसङ्गठनले समन्वय सुरु गरेको जानकारी दिए।
महाधिवेशनमा केन्द्रीय निकायबाट ४६४ प्रतिनिधि (केन्द्रीय कमिटी, आयोगहरू र सल्लाहकार परिषद्बाट), प्रदेशस्तरीय कमिटीबाट कम्तीमा दुई महिलासहित पाँचका दरले ४५ प्रतिनिधि सहभागी हुनेछन्। सबैभन्दा बढी प्रतिनिधि एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्रबाट समावेशीताको सिद्धान्तअनुसार एक हजार १३५ जना हुनेछन्। हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने व्यवस्था गरिएको छ।
प्रतिनिधि चयनमा समावेशीता सुनिश्चित गर्दै दलित आरक्षणअन्तर्गत कम्तीमा महिलासहित ८१, श्रमिकमा ४०, प्रवास कमिटीबाट तीन महिलासहित ३५, केन्द्रीय विभागबाट ३२ र जनसङ्गठनबाट महिलासहित कुल १३७ प्रतिनिधि रहनेछन्। बाँकी १०१ प्रतिनिधि पार्टी केन्द्रले मनोनित गर्ने कार्यालय सचिव डा अधिकारीले जानकारी दिए।