नयाँ मन्त्रीसँगै आयो दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
16.1k
Shares
काठमाडौँ । पटक पटक सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद नयाँ मन्त्री आएपछि फेरि तोकिएको छ । नयाँ मिति अनुसार दशौँ राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष तथा नयाँ युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।
बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई रु २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद् सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल सङ्घलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल सङ्घ आफैँले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल सङ्घले वैदेशिक भ्रमणसम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ ।
बैठकमा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका उपाध्यक्ष ध्रव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।
यसअघि मन्त्री फेरिएपिच्छे दशौँ राष्ट्रिय खेलकुदको मिति सर्दैै आएको छ ।