arrow

शाहीले सिटौलालाई भने - ‘इफ यु आर नट अपडेटेड, यु आर आउटडेटेड’ 

पार्टीमा हर्कत देखाइरहे ०६४ सालमा ३७ सिटमा झरे जस्तै यसपटक सात सिटमा झर्नुपर्ने अवस्था आउने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
sitaula-jivan-shahi.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीका पूर्व महामन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले बैठकमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बुधबार आफ्नो धारणा राख्ने क्रममा नेता शाहीले यस्तो आपत्ति जनाएका हुन् । 

नेता सिटौलाले मंगलबारको बैठकमा पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै फेसबुकमार्फत पार्टी कब्जा गर्न खोजेको, नेताहरूलाई गाली गरेको भन्ने आरोप लगाएका थिए । 

सिटौलाको अभिव्यक्तिमा महामन्त्री थापाले आपत्ति जनाएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सिटौलालाई आफ्नो भनाइ फिर्ता लिन निर्देशन दिएका थिए । त्यसपछि सिटौलाले उक्त भनाइ फिर्ता लिएको बताएका थिए।

सिटौलाको यो भनाइप्रति एउटा व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेख्दा देशभरि हंगामा भयो भन्न कुरालाई हचुवाको रूपमा लिन नसकिने बताए ।

पार्टीका जिम्मवार व्यक्तिले फेसबुक र सामाजिक सञ्जालका कुरा निकालेर नेतालाई ललकार्ने परिपाटी ठीक नभएको जिकिर गरे । सिटौलामाथि आक्रोश पोख्दै नेता शाहीले भने, ‘इफ यू आर नट अपडेटेड, यू आर आउटडेटेड ।’ 

उनले थपे, ‘हामीले चाहे पनि नचाहे पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैनौँ । कतिपयमा दम्भ पनि हुन्छ । हामी नै हौँ अरू केही होइन भन्ने छ । यस्तो गलत प्रवृत्तिबाट माथि उठौंँ ।’

जेन-जीले सामाजिक सञ्जालमार्फत् नै आन्दोलनको आँधीबेहरी ल्याएको नबिर्सन पनि उनले नेताहरूलाई सचेत गराए । बैठकमा शाहीले पार्टीमा हर्कत देखाइरहे ०६४ सालमा ३७ सिटमा झरे जस्तै यसपटक सात सिटमा झर्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

उनले सबै नेता एक ठाउँमा उभिएर नियमित अधिवेशन गर्नुपर्ने भन्दै ४८ घण्टामा देश तहसनहस भएको कुरा बुझ्न आग्रह गरेका थिए । 

‘संसारमा नभएको भयो भनेर हामी नै भन्दैछौँ । कांग्रेसले गर्न सक्दैन भन्ने नै होइन । कुनै नेताको  अनुहार मन पर्दैन भनेर सोच्नु राम्रो हुँदैन । तर पनि आज होटल होटलमा बैठक बसेका छन् । यहाँ बस्ने बाठाटाठा साथीले महाधिवेशनको कार्यतालिका भनेर प्रस्ताव गर्नुभयो । महामन्त्री पनि प्रस्ताव आयो । सहमतिमा नआएपछि यो विचारमात्रै हो,’ उनले भने।

उनले थपे, ‘‘एउटा प्रस्ताव आउनुपर्दथ्यो । केन्द्रीय समितिमा छलफल हुनुपर्थ्याे । हामी भोटिङबाट टुंगोमा पुर्याउँथ्यौं । तर एकले अर्कोलाई धाक र धम्की दिने कुरा गरेका छौँ । यसले हामीलाई कुन ठाउँमा पुर्याउँछ ?’

जतिसुकै हस्ती र जिम्मेवार नेता भए पनि जनताले हराउने क्षमता राख्ने भन्ने कुरा हेक्का राख्न उनले चेतावनी दिए । उनले भने, ‘हामी सबै अतिवादी भएका छौँ । हस्तीलाई नै जनताले हराइदिन्छन् । गाडीमा चढ्दा कांग्रेसका जोसुकै भए पनि चोर फटाहा भन्ने छ । बाहिर राम्रो स्थिति छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राम्रो छैन । कमजोर भएका छौँ ।’ 

चुनाव हुन्छ हुँदैन भन्ने विषयमा चिन्ता नगरी नेताहरूले महाधिवेशनबारे एउटा निकास निकाल्नुपर्नेमा उनले जोड दिए । 

नोट - समाचारमा यसअघि तस्बिर गलत पर्न गएकामा क्षमा प्रार्थी छौँ (सं)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ