arrow

प्रकृतिलाई खुशी पार्न तीनचुले बराह तालमा तोरन तारियाे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
tinchula-baraha.jpg

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ र बागलुङको ताराखोला गाउँपालिका-४ को सिमानामा प्रकृतिलाई खुशी पार्न  तीनचुले बराह तालमा तोरन तारिएको छ ।

म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाले गाउँबाट लगेको तोरणलाई बाजागाजासहित समुद्री सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाइमा रहेको तीनचुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधिपूर्वक तानिएको हो ।

खेती किसानी र पशुपालन गर्ने स्थानीयबासीले परापूर्वकालदेखि हरेक वर्षको कात्तिकशुक्ल पूर्णिमाका दिन प्रकृतिलाई खुशी पार्न सामूहिक रुपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तीनचुले संरक्षण तथा प्रर्वद्धन समिति सल्लाहकार भपीन्द्र घर्तीले बताए ।

“कात्तिक पूर्णिमाका दिन तीनचुले बराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुने र शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ,” उनले भने, “चार ओटा टोलबाट सामूहिक र भाकल पुरा भएकाले व्यक्तिगत रुपमा तोरण ल्याएर तार्ने चलन छ ।”

बैकुण्ठ चतुर्दर्शीका साँझ गाउँगाउँबाट माँझखर्कमा लगिने तोरनलाई त्यहाँदेखि डोलीमा चढाएर बाजा र भजनकीर्तनसहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिरदेखि बराहतालको पूर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ ।

बाबियोको डोरी बाटेर थरिथरिका फूल गाँसेर तोरन बनाउने चलन छ । तोरन लिएर पुगेका भक्तजन बैकुण्ठ चतुर्दर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकिर्तन गर्ने गर्छन् ।

यस वर्ष पाँच ओटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पूजाआजा तथा दर्शन गरेका समिति अध्यक्ष धनबहादुर घर्तीले जानकारी दिए । तोरन तार्न र पूजाआजाका लागि आएका भक्तजनलाई समितिले नि:शुल्क प्रसाद र चिया वितरण गरेको थियो ।

ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोटलगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तीनचुलेतर्फ तोरन लैजानुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो ।

पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा विजयी भएका टिकावाङका लालबहादुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र बराह ताल परिक्रमा गरिइएको थियो ।

म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तीनचुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताए ।

ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तीनचुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए ।

सिस्ने, गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मूखमा रहेका तीनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ