महाधिवेशन नगरी चुनाव भन्दै हिँडे कांग्रेस सकिन्छ, हेक्का राखौँ : नेता अमात्य
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
3.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले महाधिवेशन नगरी चुनाव चुनाव भन्दै हिंडे कांग्रेस सकिने चेतावनी दिएका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै नेता अमात्यले यस्तो बताएका हुन् । अहिलेको अवस्थामा देशको माहोलप्रति हेक्का राख्न नसकिए बिडम्बना हुने नेता अमात्यले दाबी गरे ।
जेनजी आन्दोलनमा ओलीले त्यत्रो मानिस मार्दै गर्दा कांग्रेसले केही बोल्न नसकेको दुःखेसो पोखे । उनले भने, ‘हामी बैठकमा लोकतन्त्रका बारेमा चर्को बहस गर्छौँ तर ओलीले लोकतन्त्र मास्दै गर्दा बाहिर निस्किएर बोल्न सकेनौँ ।’
देशमा लोकतन्त्र हराउँदै गएको भन्दै उनले महाधिवेशन गर्न डराएर कांग्रेसले लोकतन्त्रको कुरा गर्न नसुहाउने स्पष्ट पारे । उनले प्रश्न गरे, ‘खै लोकतन्त्र, पार्टीमा कहाँ छ लोकतन्त्र ?’
पार्टीको महाधिवेशन नगरी जनताका जान सक्ने अवस्था नरहेको भन्दै नेता आमात्यले सरकारले चुनाव गराउन नचाहेको र चुनावको कुराले महाधिवेशन अड्काउन नपाइने बताए ।
नेपाली कांग्रेस पार्टी कहिलै पनि एकतावद्ध हुन नसकेको र सम्भाव पनि नभएको बताए । उनले भने, ‘ब्रम्हा, विष्णु र महेश्वर आए पनि कांग्रेस एकढिक्का हुन सक्दैन ।’
फागुनमा कुनै पनि हालतमा चुनाव नहुने ठोकुवा गर्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीको कुरा सुन्न आग्रह गरे ।