गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सार्न मन्सुरको प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
3.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरले महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति र भावी प्रधानमन्त्रीका रूपमा अघि सार्न प्रस्ताव गरेका छन् । पार्टी मुख्यालय बीपीनगर सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै मन्सुरले गगन थापा नेतृत्वमा नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने बताएका हुन् । उनले नयाँ जनादेशमा जानका लागि पनि महाधिवेशन गरेर मात्र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा होमिनु पर्ने बताए ।
मन्सुरले चौधौँ महाधिवेशनमा गगन थापा लोकप्रिय नेताका रूपमा स्थापित भएको भन्दै अहिले पनि उनकै लागि नेता कार्यकर्ता एकजुट भएको दाबी गरे । भने, 'त्यो महाधिवेशनमा गगन लोकप्रिय नेताका रुपमा स्थापित भए । अहिले पनि उनले अघि सारेको विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत प्रतिनिधि उभिएका छन् । अब उनलाई कांग्रेसबाट भावी सभापति र प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्नुपर्छ ।'
मन्सुरले पार्टी एकता, नयाँ सोच र युवा नेतृत्वलाई प्राथमिकता दिएर आगामी चुनावमा गगनलाई आधिकारिक रूपमा अगाडि बढाउन पनि आग्रह गरे।
मन्सुरले विशेष महाधिवेशनलाई पार्टीले सकारात्मक रूपमा लिनुपर्ने सुझाव दिँदै आवश्यक परे १० दिनभित्र गर्न सकिने प्रक्रिया रहेकोसमे दाबी गरे । उनले भने, 'यो निर्णय कांग्रेसका लागि अवसर हो । विशेष महाधिवेशनलाई कांग्रेसले ग्रहण गर्नुपर्छ । त्यसपछि हामी फागुन २१ को चुनावमा जान सक्छौँ ।'