arrow

५० अर्ब निक्षेप तान्ने तयारीमा राष्ट्र बैंक

दीर्घकालीन तरलता व्यवस्थापनमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो।

राष्ट्र बैंकले गत हप्ताबाट लामो समयका लागि अर्थात् १७५ दिन अवधिको निक्षेप संकलन सुरु गरेको थियो र आज पनि दीर्घकालीन निक्षेप संकलन गर्न लागेको छ। केन्द्रीय बैंक दीर्घकालीन रूपमै निक्षेप व्यवस्थापनमा लागेको भन्दै अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिएको छ। ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख १६ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम रकम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ।

आइतबारको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। हाल बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ र पछिल्लो समय निक्षेप बढ्ने क्रम चुलिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ