arrow

कांग्रेसले इतिहासलाई देखाएरमात्र वर्तमान सम्हाल्न सक्दैन

logo
कबिराज शाही, 
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
kabiraj-shahi-82-7-13.jpg

जनताको आवश्यकता र विकसित राष्ट्रिय, अन्तर्राष्ट्रिय परिघटनाले गर्दा यो देशले विभिन्न कालखण्डमा भिन्न-भिन्नै खाले आन्तरिक झमेलाको सामना गर्नुपरेको छ। जसमध्ये इतिहासले सम्झिन लायक धेरै घटनाहरु आज पनि ताजै जस्तो देखिन्छ।

जब देशमा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भयो त्यसको प्रमुख हिस्सेदार नेपाली कांग्रेस हो। नेपाली कांग्रेसकै कारण जनताले प्रजातन्त्रको प्रत्याभूति गर्न पाए । ०३६ सालको विद्यार्थी आन्दोलन पछिको ०३७ सालको जनमतसंग्रह, ०४२ को सत्याग्रह, ०४६ को जनआन्दोलन, ६२/६३ पछिको परिवर्तन र जनताका आफ्नै प्रतिनिधिहरु मार्फत २०७२ मा जारी भएको संविधान जारी गर्ने महान् काम किन नहोस् नेपाली कांग्रेसकै नेतृत्वमा सफल भयो।

संविधान जारी पश्चात कार्यान्वयनको प्रक्रियामा पनि कांग्रेसकै अग्र भूमिकामा कार्यान्वयन भइरहेको जगजाहेर छ। व्यवस्थाको लडाइँ थियो जुन लडाइँले धौ-धौ स्थितिबाट देशले खुल्ला हिसाबले सास हेर्न पायो । विश्वको हरेक कुनामा पुगेका र सबै कुरा भोगेका जानेका नेपालीहरुलाई व्यवस्थाको व्यवस्थापन सँगसँगै अवस्थाको पनि खोजी हुनु स्वभाविक हो । 

विकसित विश्व राजनितिक घटनाक्रम र परिवर्तित अवस्थालाई नियाल्ने हो भने नेपालि जनताहरु आफ्नो अवस्थालाई सुद्ढ गर्न जुनसुकै लडाइँ लड्न तयार भएको कुरा नकार्न सकिँदैन । एकातिर स्वदेश मै उपयुक्त रोजगार नहुनु,व्यवसाय गर्नेहरुले दिनानुदिन घाटा व्यहोर्दै जानु,स्वदेशमा केही नदेखेर विदेश पलायन हुनु,अर्कोतिर जनताका प्रतिनिधिहरु झन् झन् भ्रष्टाचारको चंगुलमा फंसेर थुप्रै काण्डहरु बाहिर आउनु,नेताहरुकै वरिपरिका व्यक्तिहरुले अवसर नै अवसर पाइरहनु झन् आगोमा घ्यू थपे जस्तै हो।

नेपाली कांग्रेसले जसरी व्यवस्थाको लडाइँको नेतृत्व गर्यो त्यसरी नै अवस्थाको निम्ति नेतृत्वदायी भूमिकामा रहेर जनताको जीवनस्तर माथि उकास्न कुनै पनि कसरत बाँकी राख्नु हुँदैन। संविधान जारी पश्चात यो एक दशक थुप्रै काम भएकै हो तर जनताले प्रत्याभूति गर्न सक्ने गरेर विकास भएन । केही नेतृत्वकर्ताको दोष छ । केही देशको भूबनावट, हाम्रो आन्तरिक र बाह्य राजनीतिक घटनाक्रमले पनि रोकेको देखिन्छ।

देशकै ठूलो, ऐतिहासिक र गौरवशाली पार्टी नेपाली कांग्रेसले विभिन्न कालखण्डमा भएका भ्रष्टाचारका काण्डहरुलाई स्वतस्फूर्त पुर्वाग्रहि नरहेर छानविनको प्रकृयामा अगाडि बढाउनु पर्थ्यो। केही हदसम्म कांग्रेस यस विषयमा गम्भीर भएर छानविन प्रकृयाको निम्ति अगाडि बढेको र मार्ग प्रशस्त गरेको पनि देखिन्छ ।

अब भदौ २३/२४ पछिको नेपाल र त्यो भन्दा अगाडिको नेपालमा धेरै भिन्नता छ। हाम्रा ऐतिहासिक आस्था र धरोहरहरूको क्षति हेर्दा कयौँ बाह्य शक्तिहरुबाट परिचालित भनेर आशंका गर्ने ठाउँ छँदैछ। तर पनि जेन-जीहरूले जुन हिसाबमा आन्दोलन गरे र यो परिस्थिति सिर्जना भयो त्यो अरुलाई दोस लगाएर उम्किने मात्र विषय होइन।

कांग्रेस जरुर आत्मआलोचनाका साथ निर्मम समीक्षा गरेर अगाडि बढ्नुपर्छ। जसरी युवाहरु पार्टी र नेतृत्व प्रति आक्रोशित भएका छन् उनीहरूको मनोभावनालाई कदर गर्दै उपयुक्त कदम चाल्नु नै पर्छ।

यतिबेला कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । यस बैठकबाट देश निर्माणका लागि कांग्रेसले उपयुक्त रोडम्याप जारी गरोस् । जसरी सभापति शेरबहादुर देउवाले खुला छाती देखाएर कार्यवाहक दिए त्यसरी नै खुला हृदयका साथ जेन-जी र जेन-वाई लगायतका युवालाई समेटेर उपयुक्त स्थान दिएर फास्ट ट्रयाकबाट नियमित महाधिवेशन समयमा नै गर्नुपर्छ ।

यदि यसो भएन भने भर्खरै झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर जुन विशेष महाधिवेशनको माग गर्नुभएको छ उहाँहरुको भावनाको कदर गर्दै विशेष महाधिवेशन गर्नु नै पर्छ ।

केही नेताहरुले सबै ठीकठाक छ भनेजस्तै सबै ठीकठाक छैन । जनताहरुमा विश्वास घटेको छ, कार्यकर्ताहरु रिसाएका छन् । नयाँहरु जोड्नका लागि यही परिस्थितिबाट हामी अगाडि बढ्न सक्ने अवस्था छँदै छैन । यही परिस्थितिमा निर्वाचनमा जानुपर्यो भने गासमा ढुंगा लागेझैँ हुनेछ ।

देशलाई सम्हाल्ने जिम्मा हाम्रो हो। ठीक यतिबेला हामी दूधले नुहाएर चोखिने अवस्था छैन । यति मात्र हो हामी सुध्रिएको जनतालाई देखाउनु पर्नेछ । (शाही कांग्रेसको भ्रातृ संगठन नेविसंघका केन्द्रीय सदस्य हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ