arrow

सत्ता र स्वार्थबीच कुलमान: जिम्मेवारी चुनाव गराउने, प्राथमिकता पार्टी खोल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
kulman-ghising-82-7-8.jpg

काठमाडौँ। जेन-जी आन्दोलनपछि भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र फागुन २१ गते चुनाव सम्पन्न गर्ने जनादेशसहित गठन भएको नागरिक सरकारभित्र हाल स्वार्थ बाझिने गतिविधि देखिन थालेको छ। 

यसरी स्वार्थ बाझिने गतिविधिको केन्द्रमा छन् तीन वटा महत्वपूर्ण मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङ। सरकारको जिम्मेवारी चुनाव गराउने भए पनि घिसिङको प्राथमिकता भने नयाँ राजनीतिक दल खोल्ने दिशामा केन्द्रित देखिएको छ।

ऊर्जा, भौतिक योजना र सहरी विकासजस्ता देशको विकास र निर्माणका सबैभन्दा महत्त्वपूर्ण मन्त्रालयहरू उनकै हातमा छन् । यी मन्त्रालयहरू परम्परागत रूपमा भ्रष्टाचार, ढिलासुस्ती र असक्षमताका सन्दर्भमा आलोचित रहँदै आएका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीले बाहिर लोकप्रिय र दक्ष छवि भएको प्रचार गरिएकै कारण घिसिङलाई यी मन्त्रालयहरूको जिम्मेवारी दिएकी थिइन् । जसबाट देशमा सुशासन र काम गर्ने संस्कृतिको सन्देश जाने अपेक्षा गरिएको थियो। 

यद्यपि पछिल्ला दिनहरूमा घिसिङ मन्त्रालयका कामभन्दा पार्टी निर्माणका गतिविधिमा बढी व्यस्त हुन थालेपछि सरकारभित्रै असन्तुष्टि बढेको छ।

स्रोतका अनुसार उनी केही समयदेखि देश–विदेशमा रहेका आफ्ना समर्थक र शुभेच्छुकहरूलाई संगठित गर्दै नयाँ पार्टीको विधान निर्माणका लागि ‘एकान्तवास’मा रहेका छन्। यस्तै आफूले नेतृत्व गरेका मन्त्रालयहरूमा विवादास्पद निर्णयका प्रयास पनि देखिएका छन्, जसले सरकारको प्राथमिकतामाथि प्रश्न उठाएको छ।

चुनाव गराउने जिम्मेवारी पाएको सरकारकै मन्त्रीले आफ्नै पार्टी खोलेर चुनावी मैदानमा उत्रिने तयारी गर्न थालेपछि अन्य मन्त्रीहरू बीचमा नैतिकता र जिम्मेवारीको सवाल उठेको छ। 

मन्त्रिपरिषद् भित्रै “सरकारको लाभमा बसेर व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्नु अनुचित” भन्ने धारणा आउन थालेको छ। प्रधानमन्त्री कार्की पनि यसबारे चिन्तित रहेको निकट स्रोतहरू बताउँछन् ।

लोकप्रिय प्रशासकका नाममा ‘उज्यालोका नायक’ को उपमा पाएका कुलमानको अघिल्लो भूमिकाले जनतामाझ ठूलो विश्वास बनाएको थियो । 

हुनत विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा रहेका बेला आर्थिक अनियमिततासम्बन्धी १७ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका थिए । जसलाई  तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामै प्रमुख आयुक्त प्रेम राईले तामेलीमा राखिदिएको आरोप उठेको थियो।

हाल घिसिङ आफ्नो नयाँ पार्टीको तयारीमा तीव्र गतिमा अघि बढिरहेका छन् । उनका निकटहरूले चुनाव हुने निश्चित भएपछि राजीनामा दिएर पूर्ण रूपमा पार्टी निर्माणमा जुट्ने योजना रहेको बताएका छन् ।

मिडियामा राजनीतिमा सक्रिय भएको विषय उठ्न थालेपछि उनले हाल कुनै दलसँग सहकार्य गर्ने विषयमा कुनै छलफल नभएको भनी पन्छिएका थिए ।

चुनाव गराउने जिम्मेवारी बोकेको नागरिक सरकारको मन्त्रीकै प्राथमिकता यदि व्यक्तिगत राजनीतिक भविष्यमा सीमित रह्यो भने सुशासन र उत्तरदायित्वको सपना फेरि अधुरै रहने टिप्पणीसमेत जेन-जी आन्दोलनका अभियन्ताहरूको छ । 

सत्ता र स्वार्थबीच उभिएका कुलमान घिसिङका पछिल्ला कदमले देशको ‘उज्यालो’ प्रतीकलाई फेरि विवादको ‘छायाँ’मा पुर्‍याउने भने देखिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ