लक्ष्मीपूजाका दिन मन्त्री घिसिङ प्राधिकरणको प्रेषण केन्द्रमा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
1k
Shares
काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरूमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका छन्।
सोमबार साँझ मन्त्री घिसिङ, ऊर्जा जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत विकास विभागका महानिर्देशन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायतको टोलीले प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको भ्रमण गरी विद्युत् आपूर्तिको अवस्थाका बारेमा जानकारी लिएको थियो।
यस क्रममा मन्त्री घिसिङले विगत वर्षमा झैँ यस वर्षको लक्ष्मीपूजाका दिन पनि मुलुकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल हुने विश्वास व्यक्त गरे। प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभरका वितरण केन्द्र र विद्युत गृहका प्रमुखहरू तथा प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।
स्मरण रहोस्, २०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो।