काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार थप पाँच रिट निवेदन दर्ता भएका छन् । यसअघि ११ रिट निवेदन दर्ता भएका थिए ।
यही कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै आजसम्म १६ रिट निवेदन दर्ता भएका छन् । दर्ता भएका निवेदनहरू संवैधानिक इजलास सुनुवाइ हुनेछ ।
गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित भएको थियो । गत असोज २८ गतेदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन आएका हुन् ।