arrow

भिड्ने ‘मुड’ मा माओवादी, वाईसीएलले काठमाडौँमा बनायो फोर्स 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
ycl-anfsu.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) भिड्ने ‘मुड’ मा पुगेको छ । शुक्रबार काठमाडौँमा समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीको भ्रातृ संस्था युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष पुष्प ओलीले जेन–जी आन्दोलनको नाममा फेरि पनि हुनसक्ने आक्रमणको प्रतिकार गर्न आफूहरुले काठमाडौं उपत्यकामा १०औं हजारको फोर्स बनाएको बताएका छन् ।

उनले असली जेन–जीहरुको मागमा आफूहरु एकमत रहेको बताए । आफूहरु सो आन्दोलनमा स्वयमसेवकीय भूमिकामा संलग्न हुँदाहुँदै पनि घुसपैठेहरुले माओवादीका नेताहरुमाथि आक्रमण गर्ने, शक्तिको दुरुपयोग गरेर दमन गर्ने प्रयास भएको बताए । फेरि पनि यस्ता प्रकारको गोप्य षड्यन्त्रहरु रचिएको हुन सक्छन् भनेर आफूहरुले उपत्यकामा १०औं हजारको युवा फोर्स रेडी गरेर राखेको बताए । 

‘फेरि पनि स्वयंसेवकीय भूमिकामा हामी संलग्न हुँदाहुँदै पनि फेरि केही घुसपैठ्याहरुले आक्रमण गर्ने, अहिले पनि प्रहरी प्रशासन र शक्तिको दुरुपयोग गरेर दमनको जुन प्रयास गरिएको छ । यसप्रति हामी घोर भर्त्सना र निन्दा गर्दछौं । फेरि पनि त्यस्ता कुनाकन्दरामा गोप्य षड्यन्त्रहरु रचिन्छन् भने हामी त्यसको भण्डाफोर गर्न, प्रतिरोध गर्न र प्रतिकार गर्न पनि तयार छौं । उपत्यकामा हामीले १०औं हजारको फोर्स हामीले रेडी गरेका छौं । हामी तिनीहरुलाई यो मञ्चबाट पनि खबरदारी गर्न चाहन्छौं– तिमीहरुका दिवास्वप्न जुन हामीमाथि आक्रमण गर्यौ, फेरि पनि गर्छौ भने हामी युवा विद्यार्थीहरु मिलेर त्यसको प्रतिरोध गर्छौं,’– उनले भने । 

वाईसीएल अध्यक्ष ओलीले गत भदौ २३ गते ड्रेसमै रहेका विद्यार्थीमाथि हानिएको गोली र गरिएको दमनमाथि छानविन  गरिनुपर्ने बताए । उनले भदौ २४ गते १२ बजेदेखि जेन–जी आन्दोलन हाइज्याक भएको र त्यो हाइज्याक गर्ने र विध्वंशमा संलग्नहरुमाथि पनि कारबाही गरिनुपर्ने बताए । ‘भदौ २३ गते ड्रेसमा रहेका विद्यार्थीहरुमाथि गोली हानियो, जन दमन गरियो । २३ गतेको जनदमनको निष्पक्ष छानविन गरियोस् । २४ गते १२ बजेदेखि जेन–जी आन्दोलन हाइज्याक भएको छ । यो हाइज्याक गर्नेहरु र विध्वंशमा संलग्नहरुलाई पनि कारबाही गर्नुपर्छ,’– उनले भने । 

साथै, उनले माओवादीका अग्रज नेता कृष्णबहादुर महरामाथि धरपकड गरिएको र झुठा मुद्दा लगाएर फसाइएको बताए । उनले महरालाई तत्काल रिहा नगरिएको खण्डमा सडकबाट जवाफ दिने पनि उनले चेतावनी दिए । ‘हाम्रो अग्रज नेता कृष्णबहादुर महरामाथि धरपकड गरिएको छ । यसको पनि हामी खेद र भर्त्सना गर्न चाहन्छौं । उहाँमाथि प्रचण्ड नेतृत्वको सरकारले नै छानविन गरिसकेको हो । 

अहिले के त्यस्तो प्रमाण पाउनुभयो ? उहाँको लामो विरासत छ, जनताको सेवा गरेको । जनताको मन जितेर आएको उहाँ नेतृत्व हो । उहाँमाथि झुठा मुद्दा लगाइयो भने यसको पनि हामीले सडकबाट जवाफ दिन नपरोस् । अहिले कानूनी राज्य छ, के आधारमा समातियो ?’ प्रश्न गर्दैै उनले भने । 

त्यस्तै, उनले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा र राप्रपाका नेताहरुको सम्पत्ति छानविन गरिनुपर्ने बताए । निष्पक्ष रुपमा हुने सम्पत्ति छानविनमा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै सुरु गर्न पनि उनले चुनौति दिए । 

‘सम्पत्ति छानविनको कुरा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, पूर्व राजा, राप्रपाका नेताहरु, जो देशको ब्रम्हलुट गरे र अहिलेका वर्तमान प्रधानमन्त्रीको पनि छानविन हुनुपर्छ । निष्पक्ष गरिने छानविनको सुरुवात हाम्रो अध्यक्षबाटै सुरु होस् । अरुलाई पनि छोड्न हामीले छुट दिने छैनौं । एक दिन पनि राज्यको तलब ढुकुटी खानेलाई छानविनको दायरामा ल्याउनुपर्छ,’– उनले भने । 

यता, माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरुलाई धरपकड गर्ने, सुरक्षा थ्रेट दिने, विभिन्न आरोप लगाउने र कुप्रचार गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाउँदै त्यसविरुद्ध भिड्ने बताएका छन् । 

उनले सरकारले यस्ता कामहरु तत्काल बन्द गर्नुपर्ने बताएका हुन् । 

‘अहिले बनेको सरकारले माओवादी आन्दोलनका र गणतन्त्र पक्षधरका ती नेताहरुलाई धरपकड गर्ने, सुरक्षामा थ्रेट दिने, आरोप लगाउने, कुप्रचार गर्ने कार्यहरु भइरहेका छन्,’– उनले भने । 

अखिल (क्रान्तिकार) का अध्यक्ष सापकोटाले तत्कालीन सकरारले जेन–जी आन्दोलनको क्रममा ड्रेसमा आएका विद्यार्थीहरुमाथि गोली हानेको भन्दै आपत्ति जनाए । उनले गोली हान्न आदेश दिने दोषीमाथि कारबाही गरिनुपर्ने बताए । यो कुरा आफूहरुलाई सह्य नरहेको पनि उनले बताए । 

‘यो सरकारले भदौ २३ गते भएको आन्दोलनमा ड्रेसमै रहेका विद्यार्थीहरुलाई हत्या गरियो । ती हत्याराहरुलाई छानविन गरेर कारबाही गर्नुको साटो अन्तै कुरा मोड्न खोजिरहेको छ, यो हामीलाई चित्त बुझिरहेको छैन । यो हामीलाई सह्य पनि छैन,’– उनले भने । 

साथै माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्नका लागि त्रिताल आयोग गठन गरिएको र सो आयोगले तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदनसमेत बुझाइसकेकाले त्यो प्रतिदेन सार्वजनिक गर्न माग गरे । 

‘हाम्रा अध्यक्ष प्रधानमन्त्री भएको बेलामा त्रिविको अतिक्रमित जग्गा छानविनका लागि त्रिताल आयोग गठन भएको थियो । त्यतिबेला त्रिताल आयोगले त्रिभुवन विश्वविद्यालयमा हजार रोपनीभन्दा बढी जग्गा अतिक्रमित भएको भनेर तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन गायब भएको छ । त्यो बारे खोज अनुसन्धान हुनुपर्छ,’– उनले भने । 

नेता सापकोटाले अब तोकिएको मिति अगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताए । चुनाव भाँड्नका लागि वर्तमान सरकारदेखि जेन–जी आन्दोलन हाइज्याक गर्नेहरुसम्म लागिरहेको उनले बताए । 

‘तोकिएकै मितिमा चुनाव होस् । जेन–जीले देखेको सपना पूरा गर्ने बाटोमा तपाईँ हामी सबै लागौं । चुनावलाई विथोल्न यो सरकार र जेन–जी आन्दोलनको हाइज्याक गर्नेहरु लागिरहेका छन् कि भन्ने हामीलाई लागिरहेको छ,’– उनले भने । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ