arrow

'गतिशील लोकतान्त्रिक पार्टी' गठन, प्रसाईं अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
dinesh-prasai-gatishil-loktantrik-party-glp.jpg
तस्बिर-पार्टीका अध्यक्ष डा दिनेश प्रसाईं

काठमाडौँ । 'गतिशील लोकतान्त्रिक पार्टी' गठन भएको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसमेत सदस्य रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । यसको दर्ता नम्बर ५१७ हो ।

निर्वाचन आयोगले उक्त पार्टी बिहीबार दर्ता गरेको छ । पार्टीको अध्यक्षमा डा दिनेश प्रसाईं रहेका छन् । पार्टीका महासचिव पाँच जना छन् । 

जसमा धनबहादुर तामाङ (राजनीति), पियुष कायस्थ (संगठन), गौरब परियार (सुशासन), अनमिका चौधरी (उद्यमशिलता) र शान्ति गुरुङ (समता) हेर्ने जिम्मेवारी प्रस्ताव गरिएको छ ।

आयोगले बिहीबार नै उक्त पार्टीलाई 'दीपज्योति' चुनाव चिह्न प्रदान गरेको छ । दुई वर्षको तयारी गरी पार्टी खोलिएको जनाइएको छ । आन्तरिक समय बढी नै लिएका बस्नेतले आगामी फागुन २१ गतेको चुनावका लागि उम्मेदवारसमेत तयार गर्न लागिपरेका छन् । 

पार्टी अध्यक्ष प्रसाईं समाजशास्त्री हुन् । उनी त्रिभुवन विश्वविद्यालयमामा एमफिल र पिएचडीका विद्यार्थीलाई पढाउँछन् । डेढ दशकदेखि उनी पर्यटन व्यवसायमा संलग्न रहेका छन् । 

महासचिव  कायस्थ कृषि विज्ञ हुन् ।

बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसमेत यो पार्टीका सदस्य छन् । 

पार्टीलाई निकै पारदर्शी बनाउन जोड दिइएको छ । पार्टीको आह्वानपत्रसमेत तयार भएको छ ।

 कुनै पनि सदस्य एकै पदमा बढीमा दुई कार्यकालको लागिमात्र बहाल रहन सक्ने व्यवस्था गरिएको छ। 

यसैगरी पार्टीको जुनसुकै कार्यसमितिको पदमा सोह्र वर्षसम्म बहाल रहेपछि स्वतः पदमुक्त हुने व्यवस्थासमेत गरिएको छ ।

पार्टीलाई जिम्मेवार बनाउनका लागि पार्टी कार्यसमितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने नियम बनाइएको छ ।

सार्वजनिक पदहरू मन्त्री, प्रधानमन्त्रीमा दुई पटकभन्दा बढी प्रतिनिधित्व गर्न नपाइने पनि बनाइने भएको छ । 

पार्टीको हरेक गतिविधिलाई सुशासनयुक्त बनाउन  खुला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने भनिएको छ । 

फागुन २१ गतेको चुनावको विधि छाडेर त्यसपछिका हरेक चुनावमा स्थानीय स्तरको शुरुआती तहबाटै सबैको सहभागितामा उम्मेदवार छानिने भएको  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ