देउवा बिना कांग्रेस केन्द्रीय समिति बैठक, मुख्य एजेन्डा १५ औँ महाधिवेशनको [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
1.3k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आजदेखि एजेन्डामा छलफल शुरू भएको छ । पार्टी मुख्यालय बीपीनगर सानेपामा बैठक बसिरहेको हो । गत मंगलबारदेखि शुरू भएको बैठकको पहिलो दिन सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएपछि अन्य विषय प्रवेश गराइएको थिएन ।
देउवाले कार्यकारी पद त्याग्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् । उनको सम्मानमा अन्य कुनै कार्यक्रम नराखिएको हो । जसका कारण महाधिवेश प्रतिनिधिहरुले मंसिरमा विशेष महाधिवेशन गर्न माग गर्दै संकलित हस्ताक्षर बुधबारमात्रै कार्यवाहक सभापति खड्काले बुझेका छन् ।
नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व लिएर चुनावी मैदानमा जानुपर्ने भन्दै महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी महाधिवेशन गर्न माग गरेका हुन् ।
केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा नै महाधिवेशन भएसँगै आजदेखि घनिभूत रुपमा छलफल हुनेछ । पहिलो पटक केन्द्रीय समिति बैठक देउवा बिना नै बसिरहेको हो । उनले अब कार्यकारी लिने छैनन् । विधानतः दुई पटक भन्दा बढी सभापति बन्न पाइँदैन ।
तर अर्को समिति निर्वाचित नहुँदै देउवाले स्वास्थ्य लगायतका समस्या देखाएर कार्यकारी खड्कालाई दिएका हुन् । त्योसँगै उनी बिना नै बैठक बसिरहेको हो । सभापतिको कुर्सी भने खाली राखिएको छ ।
महाधिवेशन नै एकमात्र विकल्प भएकाले सोही विषय प्राथमिकतामा परेको छ । त्यसपछिमात्र अन्तरिम सरकारले तोकेअनुसार फागुन २१ गतेको निर्वाचन हुनेछ ।
देउवा पक्षले महाधिवेशनको समय लम्ब्याउन खोजे पनि नियमित समय भने मंसिर नै हो । महामन्त्री गगनकुमार थापालेसमेत भनिसकेका छन्, ‘हामीले बुझेको समयभित्र भनेको २०८२ को मंसिर मसान्त हो । महाधिवेशन त्यही समयभित्र सम्पन्न हुन्छ ।’
पार्टीको विधानअनुसार चार चार वर्षमा नियमित चुनावी महाधिवेशन गर्नुपर्ने हुन्छ । १४ औँ महाधिवेशन २०७८ सालको मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौँमा भएको थियो ।
सोही हिसाबले पनि मंसिर अन्तिमसम्ममा १५ औँ महाधिवेशन हुनुपर्नेछ ।
पार्टीलाई जेन–जी आन्दोलनपछि नयाँ नेतृत्वसहित चुनावमा होमिनु पर्ने भएकाले नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्न माग गर्दै ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका छन् ।
विशेष महाधिवेशनको पक्षमा बहुमत जुटेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेपछि आन्तरिक राजनीति नयाँ दिशातर्फ मोडिएको हो ।
पार्टी विधानअनुसार केन्द्रीय समितिले निर्णय गरे वा महाधिवेशन प्रतिनिधिहरूमध्ये ४० प्रतिशतले लिखित माग गरे विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । यही प्रावधानलाई आधार मानेर महामन्त्रीद्वयले मंसिरभित्रमा नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने दुवै विकल्पलाई समानान्तर रुपमा अगाडि बढाएका थिए ।
गगन–विश्वको सक्रियतामा नेता डा शेखर कोइराला नदेखिएपछि शेखर पक्ष थप कमजोर बन्दै ओझेलमा परेको छ । देउवा पक्ष भने आन्तरिक रूपमा रक्षात्मक अवस्थामा पुगेको छ । तर देउवाले मंगलबार कार्यकारी छाड्दै १५ औँ महाधिवेशन मंसिरमै गर्न सहमति जनाएसँगै अब भने १५ औँ नियमित महाधिवेशन मंसिरमै हुने संकेत देखिएको छ ।
देउवा पक्षले अहिले विशेष महाधिवेशन वा नियमित महाधिवेशनको चर्चा उठाएको छैन । उसले केही समय यही कार्यसमितिलाई नै अगाडि बढाउन चाहिरहेको छ । महामन्त्रीद्वयले पार्टीको नीतिगत दिशा, आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र नेतृत्व पुस्तान्तरणका एजेन्डालाई विशेष महाधिवेशनको केन्द्रीय विषय बनाउन खोजेका छन् ।
देउवा पक्षका नेताहरू भने पार्टी अहिले स्थायित्व र एकताको चरणमा भएकाले तत्काल विशेष महाधिवेशन गर्ने अवस्था नभएको तर्क गर्दैछन् । उनका निकट नेताहरूका अनुसार पार्टीलाई विभाजनतर्फ लैजाने जोखिमपूर्ण कदम चाल्नेभन्दा पनि नियमित प्रक्रियाबाट मात्र अगाडि बढ्नुपर्ने उनको धारणा छ ।
महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमार्फत नै मंसिरभित्रै नियमित महाधिवेशनको प्रस्ताव अघि बढाउने तयारी गरिरहेका छन् । त्यसमा सहमति नजुटे प्रतिनिधिहरूबाट सङ्कलन गरिएको हस्ताक्षरमार्फत विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाउने उनीहरूको तयारी छ ।
जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक सोच बदलिएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै गर्दा त्यसका लागि पनि कांग्रेस नयाँ म्यान्डेटअनुसार जानुपर्नेमा जोड दिइएको छ ।
समय छोटो भए पनि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार र छठपछि कांग्रेस डेढ महिना स्थानीय तहदेखि केन्द्रसम्ममा एकैपटक सक्रिय भएर खटिने हो भने मंसिर अन्तिम साता सजिलै नियमित महाधिवेशन हुन सक्छ ।
र, गर्नु पनि पर्छ । किनकि समयअनुसार चल्न सकिएन भने त्यो पार्टी व्यर्थ भएर मासिन्छ ।