सुन तस्करी आरोपी कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
4.2k
Shares
फाइल तस्बिर
काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
बुधबार भएको महराको थुनछेक बहसपछि जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेको हो । अदालतको यो आदेशपछि महराको अनुसन्धान थुनामै रहेर हुनेछ ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो । काठमाडौँ जिल्ला अदालतमा गत सोमबार दायर भएको मुद्दामा थुनछेक बहसका लागि मंगलबार तोकिएको पेशी बुधबारसम्मका लागि हेर्दाहेर्दैमा गएको थियो ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा महरा आइतबार पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई पक्राउ गरेको हो ।
दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर २०७९ पुस १० गते ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्व सभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए ।
प्रहरीले यसअघि उनलाई दुई पटक पक्राउ परे पनि सत्ता शक्तिको आडमा उनी छुटेका थिए । उनका छोरा राहुल पनि १४ महिना जेल बसेर छुटेका थिए ।
यसअघि बिमार भएको बहानामा तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले उनलाई हाजिरी जमानीमा छाडेका थिए । उनले कानूनको पनि मन हुने प्रतिक्रिया दिएका थिए ।
अहिले तिनै रवि लामिछाने सहकारी ठगी आरोपमा नख्खु कारागारमा रहेका छन् ।