कांग्रेसको नियमित महाधिवेशन मंसिरमै गर्न नेपाली जनसम्पर्क समिति भारतको माग
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
3.8k
Shares
फाइल तस्बिर
काठमाडौँ । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति भारतले पार्टीको नियमित महाधिवेशन मंसिरमै गर्न माग गरेको छ ।
समितिले पार्टीलाई पत्र लेख्दै मुलुकको राजनीतिक परिस्थितिलाई आत्मसात् गर्दै मंसिरमा महाधिवेशन गरेर नयाँ म्यान्डेटसहित फागुन २१ गतेको निर्वाचनमा होमिन माग गरेको हो ।
उसले देश विदेशबाट विशेष महाधिवेशन सम्बन्धी हस्ताक्षर शुरु भएको भन्दै त्यो प्रक्रिया पूरा गर्न कम्तीमा तीन महिना र हस्ताक्षर प्रमाणीकरण गर्न दुई महिना लाग्ने भएकाले विशेष महाधिवन गर्दा फागुनसम्म निर्वाचन तयारीमा असर पर्ने भएकाले मंसिरमा नियमित महाधिवेशन नै गर्न माग गरेको हो ।
समितिले पार्टीभित्र एकताको सन्देश दिन पाँच बुँदे प्रस्तावमा निर्णय गराउन अनुरोधसमेत गरेको छ ।
जसमा १५ औँ महाधिवेशन मंसिरमै गर्ने निर्णय गरियोस्, पार्टीभित्र अपूर्व एकता होस्, सुशासन र पारदर्शीतालाई हरेक तहमा सर्वोच्च प्राथमिकता दिनुपर्ने, भ्रष्टाचारमुक्त, उत्तरदायी शासनयुद्ध समृद्ध नेपाल निर्माणमा अटल प्रतिबद्धता व्यक्त गर्न पनि माग गरिएको छ । साथै विगतका कमीकमजोरी स्वीकारी जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न पनि समितिले आग्रह गरेको छ ।