arrow

जोड पुनर्जीवनको

महाधिवेशनको मागलाई बेवास्ता नगर्न कांग्रेस नेता शिवाकोटीको चेतावनी [भिडियो]

समयमै नियमित वा विशेष महाधिवेशन नभएको खण्डमा ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू पार्टी कार्यालयमा जम्मा भई अधिवेशन गर्ने र नेतृत्व चयन गरी पार्टी चलाउने अप्रिय बाटोमा जान सक्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
ajaya-babu-shiwakoti-06-28.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीको १४ औँ महाधिवेशनका बहुसंख्यक प्रतिनिधिहरूले राखेको विशेष महाधिवेशनको मागलाई पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूले नजरअन्दाज गर्न नहुने भन्दै कडा चेतावनी दिएका छन्।

नेपाली कांग्रेसमा जेन–जी आन्दोलनपछिको परिस्थितिलाई नियाल्दै बहुसंख्यक प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन्। मङ्गलबारको केन्द्रीय समितिको बैठकपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको डकुमेन्ट कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी थियो। तर पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा सम्बोधन गरेको र उनको सम्बोधन अन्तिम हुने अनुमान गर्दै खड्काले तत्काल हस्ताक्षर स्वीकार गरेनन् ।

नेता शिवाकोटीका अनुसार हस्ताक्षर बुधबार दिउँसो ३ बजे कार्यवाहक सभापति खड्कालाई बुझाउने तयारी छ। उनले बहुसंख्यक प्रतिनिधिको मागलाई गोलमटोल पार्ने वा अवरोध गर्ने बाटोमा पदाधिकारीहरू जान नहुनेमा जोड दिए ।

उनले यदि समयमै नियमित वा विशेष महाधिवेशन नभएको खण्डमा ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू पार्टी कार्यालयमा जम्मा भई अधिवेशन गर्ने र नेतृत्व चयन गरी पार्टी चलाउने अप्रिय बाटोमा जान सक्ने चेतावनी दिए । उनले यस्तो अवस्थाले पार्टीमा विग्रह निम्त्याउने भएकाले समयमै विशेष महाधिवेशन गर्नुपर्ने सुझाव दिए।

केन्द्रीय सदस्य शिवाकोटीले संसद विघटन संविधानसम्मत नरहेको र संविधान मिचेर नयाँ सरकार आएको बताए। जेन–जी आन्दोलनले पार्टीको जीवनमा पनि प्रभाव पारेको भन्दै उनले पार्टी कसरी अघि बढ्ने, पुनःसंरचना र रूपान्तरण कसरी गर्ने भन्नेबारे केन्द्रीय समिति बैठकमा विशेष छलफल हुने जानकारी दिए।

उनले सरकारले निर्वाचनको मिति घोषणा गरे पनि राजनीतिक दलहरूसँग संवाद नगरेको भन्दै सरकार निर्वाचन गराउने बाटोमा नरहेको आरोप लगाए। उनले आम नागरिकमा जानुअघि पार्टीको संगठनलाई ठीक बनाएर मात्र प्रतिस्पर्धात्मक राजनीतिमा जान सकिने उल्लेख गरे। उनले पदाधिकारी वा केन्द्रीय समितिका कसैले पनि विशेष वा नियमित महाधिवेशन रोक्ने काम नगर्न चेतावनी दिएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ