arrow

अन्योलमा कांग्रेसका युवा नेता, महाधिवेशन नियमित कि विशेष ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
lawas-sushil-alija.jpg

काठमाडौँ । जेन-जी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ । बिहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि मंगलबारका लागि केन्द्रीय समिति डाकिएको हो।

जेन-जी आन्दोलनपछि पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग चर्को रुपमा उठिरहेका बेला केन्द्रीय समिति बस्न लागेको हो ।

विशेषगरी कांग्रेसभित्र मंसिरमा नियमित महाधिवेशन नत्र विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग भइरहेको छ । जसका कारण सभापति शेरबहादुर देउवा चर्को दबाबमा छन् ।

कार्यवाहक तोकेर देउवालाई पार्टी राजनीतिबाट विश्राम लिनुपर्ने र तत्काल महाधिवेशन गराउनुपर्ने दबाब परेको छ । पार्टीका विभिन्न तहका काम गरिरहेका केही युवा नेताहरूले भावी नेतृत्वका लागि फरक-फरक धारणा राखिरहेका छन् ।

कांग्रेसलगायत सबै भ्रातृ संगठन भंग गर्नुपर्छ

कांग्रेसका युवा नेता एवं लेखक लाओस राई पछिल्लो घटनालाई कांग्रेसलाई नयाँ चरणमा पुर्‍याउने एउटा जोखिम र अवसर दुवै भएको बताउँछन् । उनी भन्छन्, ‘जेनजी घटनाले कांग्रेसलाई नयाँ चरणमा पुर्‍याएको छ । त्यसकारण, कांग्रेस पहिला सचेत हुनुपर्‍याे । गतिशील निर्णय, समाजलाई रूपान्तरण गर्ने खालका निर्णय गर्नुपर्छ जस्तो लाग्छ ।’

उनी सबैभन्दा पहिले संगठन विस्तारका लागि भातृ संगठन, उपसमितिलगायतका संगठन सबै विघटन गर्नुपर्ने बताउँछन् । ‘कांग्रेस पार्टीले, कांग्रेस पार्टीकै पनि केन्द्रीय समिति पनि भङ्ग गर्नुपर्छ । यस्तो निर्णय गरेपछि, मान्छेमा ऊर्जा आउँछ । नयाँ पुस्ताका मान्छेहरू चाहीं कांग्रेसमा प्रवेश गर्छन् जस्तो लाग्छ,’ उनी भन्छन् ।

राई विशेष महाधिवेशनले तरङ्ग ल्याउन नसक्ने र त्यो समय-सापेक्ष उपयुक्त नभएको बताउँछन् । ‘विशेष महाधिवेशन भन्ने कुरा उपयुक्त होइन् । यत्रो ठूलो आन्दोलनले पार्टीको विचार, सिद्धान्त र संविधानमाथि नै आक्रमण भइरहेका बेला पार्टी आन्तरिक खलबलमा अल्झिन मिल्दैन,’ उनी भन्छन् ।

उनी विशेष महाधिवेशनभन्दा पनि केन्द्रीय समिति भङ्ग गरेर, नयाँ पुस्तालाई कांग्रेसको केन्द्रीय समितिमा ल्याउनुपर्ने र राजनीतिक विचारभन्दा व्यक्तिगत दुश्मनीका कारणले गरिएको गतिविधिले नयाँ पुस्तालाई आकर्षित नगर्ने बताउँछन् । ‘विशेष महाधिवेशनले त्यही १४औँ महाधिवेशनका प्रतिनिधिले मात्रै गर्ने हुन् । ती प्रतिनिधिबाट कांग्रेस तरङ्ग आउँदैन’, उनी भन्छन्।

राई जेन-जी आन्दोलनको उर्जालाई संस्थागत गरी विचारका साथ अघि बढाउनुपर्ने, नत्र अतिवाद र क्रुर तरिकाले काम गर्दा लोकतान्त्रिक गणतन्त्रका लागि नकारात्मक असर पर्न सक्ने चेतावनी दिन्छन् । उनी भन्छन्, ‘यो आन्दोलनमा उर्जा छ । तर विचारविनाको ऊर्जा छ । यसले लोकतान्त्रिक गणतन्त्रलाई नै सिध्याउने हो कि, अतिवादलाई ल्याउने हो कि भन्ने त्रास छ । त्यसैले विचारमा प्रष्ट हुनुपर्‍याे । कि लोकतान्त्रिक, कि अतिवादी, कि दक्षिणपन्थी हुनुपर्‍याे ।’

आन्दोलनका चरित्र र क्रियाकलापसम्बन्धी अस्वीकार्य व्यवहारप्रति आलोचना गर्दै उनी भन्छन्, ‘नीति नियम बनाएर कसैलाई कारबाही गर्छु भन्छन्र भन्नु ठीक छ । तर, घरबाट थुतेर पिट्छु, सिध्याउँछु, ल देखाइदिन्छु भन्छन्र हुँदैन । त्यो रगतको आवेश मात्रै हो ।’

राईको आफूहरूले राजनीतिमार्फत स्पष्ट भएर जनताको सत्ता स्थापना गर्ने लक्ष्य उल्लेख गरेर २०६२ को आन्दोलनसँग तुलना गर्दै त्यो आन्दोलनले संविधान र गणतन्त्र निर्माणमा भूमिका खेलेको स्मरण छ । नेतृत्व परिवर्तनका लागि कार्यसमिति भङ्ग र नयाँ पुस्ताको सहभागितामा समाधान खोज्नुपर्ने र पार्टीभित्रको आन्तरिक पुनरावलोकन तथा जनआकर्षणका उपायहरू तत्परतासहित अपनाउनुपर्नेमा उनको जोड छ ।

नीति र नेतृत्व तत्काल परिवर्तन आवश्यक

युवा नेता सुशील भट्ट पार्टीभित्र वर्तमान राजनीतिक र संस्थागत परिप्रेक्ष्यका आधारमा परिवर्तन र जवाफदेहीपन आवश्यक भएको बताउँछन् । भट्टले अहिलेको विषम परिस्थितिमा पार्टीमा जनताले उठाएका एजेन्डा र संविधानका संवेदनशील विषयलाई अघि बढाउनु आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म जनताको भाषा बोल्ने र जनताले खोजेको परिवर्तन नेतृत्व गर्ने दल हो । हालको विषम परिस्थितिमा केन्द्रीय समिति बसिरहेको छ र त्यसले जनताले उठाएका एजेन्डालाई र संविधानका संवेदनशील विषयलाई अघि बढाउनु आवश्यक छ ।’

भट्ट संघीयता, प्रत्यक्ष/अप्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, पार्टीको आन्तरिक नीति, र नागरिकले उठाएको भ्रष्टाचार विरोधी आवाजलाई कांग्रेसले संस्थागत रूपमा टेकओभर गरी कार्यान्वयन गर्नुपर्ने, नेतृत्व साथै नीतिमा पनि तत्काल परिवर्तन आवश्यक रहेको औंल्याउँछन् ।

उनको साधारणतः महाधिवेशन-केन्द्रित विकल्पमा विश्वास राख्छन् तर त्यसैबेलामा नेतृत्व र संगठन परिवर्तनका लागि केन्द्रीय समिति भंग गरी नयाँ ऊर्जा भित्र्याउनुपर्ने प्रस्ताव छ । विशेष महाधिवेशन भन्दा केन्द्रीय समिति भंग गरेर नयाँ पुस्तालाई केन्द्रीय समिति र नेतृत्वमा ल्याउनु बढी प्रभावकारी हुने उनको जोड छ ।

जेन-जी आन्दोलनका क्रममा निधन भएका, घाइते र घटनासँग सम्बन्धित पक्षको स्वतन्त्र र गहिरो छानबिन हुनुपर्नेमा उनको जोड छ । साथै, सभापति शेरबहादुर देउवामाथि भएको आक्रमण र पार्टी कार्यालयमा गरिएको तोडफोडबारे दुवै पक्षको छानबिन आवश्यक भएको उनी बताउँन् । उनी भन्छन्, ‘सभापति पद व्यक्तिमात्र होइन, संस्था पनि हो । यदि सभापतिको स्वास्थ्यले साथ दिएन भन्छन् कार्यवाहक व्यवस्थाबाट पार्टीलाई महाधिवेशन केन्द्रित मार्गमा अघि बढाउनुपर्छ । सभापतिज्यूको स्वास्थ्यले कांग्रेस बिरामी हुनुहुँदैन । कांग्रेसले आफ्नो दैनिकीमा अघि बढ्नुपर्छ । किनकी कांग्रेस बिरामी भयो भन्छन् राष्ट्र बिरामी हुन्छ ।’

संगठन सुधारको प्रसंगमा भट्टले कांग्रेसले गतिशील निर्णय लिनुपर्ने बताए । भातृ र उप-संगठनलाई पुनरावलोकन÷विघटन गरी नयाँ पुस्तालाई आकर्षित गर्नेगरी संगठन नवीकरण गर्न आवश्यक रहेको बताए ।

भट्टले जेन-जी पुस्ताद्वारा उठाइएका मुद्दालाई केवल युवा आन्दोलनको माग नठान्दै समग्र राष्ट्रको आवाजका रूपमा कांग्रेसले आत्मसात गरी प्रमुख एजेन्डाको रुपमा कार्यान्वयन गर्ने दायित्व रहेको बताए । आन्दोलनका क्रममा देखिएका आक्रोश र अतिवादी प्रवृत्तिले लोकतान्त्रिक गणतन्त्र तथा शान्ति प्रक्रियामा नकरात्मक असर पार्न सक्ने चेतावनी पनि दिए । उनी सबै विभाजित धाराहरू समेटेर लोकतान्त्रिक मार्गदर्शन र भ्रष्टाचारविरोधी एजेन्डा कार्यान्वयन गरी कांग्रेसले देशलाई निकासमा लैजानुपर्ने अपेक्षा व्यक्त गरे ।

देउवाले मार्गप्रशस्त गर्नुपर्छ, विशेष महाधिवेशन जरुरी

युवा नेतृ एलिजा ढकालले पार्टीभित्रको नेतृत्व, संरचना र नीतिगत निर्णयको विषयमा गम्भीर पुनरावलोकनको आवश्यकता रहेको औंल्याइन् । उनी विशेष महाधिवेशनको आवश्यकता र शेरबहादुर देउवाले मार्गप्रशस्त गर्नुपर्ने दाबी गरेकी छन् । उनको भनाइअनुसार अहिलेको राजनीतिक अवस्था एकदमै विकराल छ र कांग्रेसले अब जनताको प्रश्नको जवाफ दिनुपर्ने समय आएको छ । ढकालले भनिन्, ‘अहिलेको अवस्था चाहीँ हामीले जनताको प्रश्नको जवाफ दिनुपर्ने समय आयो । कांग्रेसले जुन समाधान दिन्छु भन्छन्र व्यवस्था परिवर्तन गरेर यहाँसम्म आइपुगेको थियो, त्यहाँ केही समस्या देखियो । ती समस्या समाधान गर्न कांग्रेसले पहिला आफूबाट शुरू गर्नुपर्छ । नेतृत्व परिवर्तनबाटै शुरू गर्नुपर्छ ।’

उनका अनुसार, पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको आवश्यकता अनिवार्य भएको छ । तर, नियमित महाधिवेशन अहिलेको अवस्थामा सम्भव छैन भन्ने उनको तर्क छ । ‘अहिले नियमित महाधिवेशनको लागि केही जटिलता छन् । ४५ भन्दा बढी जिल्लामा कांग्रेसका कार्यालयमा आगजनी भएको छ । डकुमेन्टेसन छैन । दुई वर्षअघि महामन्त्री गगन थापाले सदस्यता पठाएको भए पनि धेरै जिल्लामा कामै भएको छैन । त्यसैले डाटा छैन, डाटा नभएको अवस्थामा कसरी महाधिवेशन गर्ने ?’ उनको प्रश्न छ ।

विशेष महाधिवेशनको वैधानिकता कांग्रेसको विधानमै उल्लेख भएकाले अहिलेको असामान्य परिस्थितिमा त्यसैलाई कार्यान्वयन गर्नुपर्नेमा ढकालको जोड छ । सभापति देउवाको भूमिकाबारे उनी भन्छिन्, ‘देउवा लोकतन्त्रका लागि लडेर यहाँसम्म आइपुगेको नेता हुनुहुन्छ । उहाँलाई यो व्यवस्थाप्रति माया हामीभन्दा बढी छ जस्तो लाग्छ । त्यसैले उहाँले मार्गप्रशस्त गर्न हिच्किचाउनुहुन्न । तर उहाँको वरिपरिका नेताहरूले उहाँलाई भ्रममा राख्ने गरेका छन् । यही भ्रमले उहाँलाई दुर्घटनामा पुर्‍यायो ।’ विशेष महाधिवेशनबारे पार्टीभित्र प्रस्ट बहुमत रहेको उनको दावी छ ।

उनका अनुसार विशेष महाधिवेशनमार्फत युवाले सत्ता कब्जा गर्न खोजेको भन्ने संस्थापन पक्षको आरोप निराधार हो । ‘जो मान्छेहरूले अघिल्लो महाधिवेशनमा शेरबहादुर देउवालाई जिताएका थिए, ती नै अहिले विशेष महाधिवेशनमा भोट हाल्न लागेका छन् । उनीहरूको विवेकमाथि विश्वास गर्नुपर्छ । गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेता अहिले रिक्स लिइरहेका छन् । चुनाव हो हरेक मान्छे निर्वाचित हुने मौका हुन्छ । त्यसैले मौका दिनुपर्छ भन्ने हो,’ उनी भन्छिन् ।

देउवाले विशेष महाधिवेशनप्रति सकारात्मक रहेको उनको विश्वास छ । नेपाली कांग्रेसभित्र जेने-जी पुस्ताको योगदान, युवा सहभागिता र संस्थागत सुधारको आवश्यकता रहेको उनको धारणा छ । 

कांग्रेसको केन्द्रीय समिति बैठक २८ गते बस्दैछ, जसमा विशेष महाधिवेशनसम्बन्धी माग र सम्भावनाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ