महामन्त्री जबराद्वारा अध्यक्ष लिङ्देनलाई मंसिर १८ अघि मिति तोक्न अल्टिमेटम
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २६ आइतबार
4k
Shares
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आगामी मंसिर १८ गतेभन्दा अगाडि नै महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिएका छन्।
आइतबार काठमाडौँमा जबरा पक्षधर नेताहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री जबराले वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल मंसिर १८ गते समाप्त हुने भएकाले त्यसअघि नै महाधिवेशनको मिति तय गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले मंसिरभित्र महाधिवेशन नगरिए वर्तमान कार्यसमिति अवैध हुने चेतावनी दिए।
महाधिवेशनका लागि दबाब दिने उद्देश्यले बोलाइएको उक्त भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरूको निलम्बन फुकुवा गरी पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ। साथै, भेलाले देशको वर्तमान परिस्थितिमा पार्टीको प्रमुख एजेण्डा– सङ्घीयता र गणतन्त्र खारेज गरेर राजसंस्थासहितको हिन्दुराज्य बनाउने मागलाई अगाडि लिएर जानुपर्नेमा जोड दिएको छ।
राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्ने भए पनि पार्टीको केन्द्रीय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन, जसका कारण महामन्त्री जबराको समूहले केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनको मिति तय गर्न दबाब बढाइरहेको छ।