मुलुकको जिम्मा लिने उत्तरदायित्व नलिनेहरूको बाहुल्यता भएको देश
डा चन्द्र भण्डारी,
प्रकाशित २०८२ असोज २४ शुक्रबार
948
Shares
मुलुकको रोग - मुलुकको जिम्मा लिने उत्तरदायित्व नलिनेहरूको बाहुल्यता भएको देश ! यसै मानसिकताले आज हामीलाई राजनीतिक, आर्थिक र नैतिक रूपले कमजोर बनाएको छ।
“सुधारको दिशा : अब भावनाले होइन, अनुभव र विवेकलाई आधार मानेर इमान्दार भएर इच्छाशक्ति सहित मुलुकका लागि काम गर्ने ।”
🔹 प्रस्तावना
विगतमा शासनसत्ताको सञ्चालनमा - आचरण, व्यवहार, छनोट र संवोधन - सबै तहमा गम्भीर कमजोरीहरू देखिए।
अझ गम्भीर पक्ष के हो भने, दुई ठूला महाशक्ति राष्ट्रबीच रहेका हामीले आवश्यक समन्वय र गतिशील सन्तुलन (Dynamic equilibrium) कायम गर्न सकेनौं।
यस्ता असन्तुलनहरूको परिणामस्वरूप राष्ट्रले ठूलो राजनीतिक र कूटनीतिक दुर्घटना भोग्नुपर्यो। त्यो घटनाले केही समय हामी सबैलाई भावनात्मक सुन्नोपन (emotional blunting) तिर धकेल्यो।
तर अब समय बदलिएको छ - अब भावनाले होइन, अनुभव, विवेक र दिमागले सोच्ने र निर्णय गर्ने बेला आएको छ।
स्याडिस्टिक (Sadistic) प्रवृत्ति - जसले अरूको पीडाबाट आनन्द लिन्छ - त्यस्ता मानसिकता र स्वार्थी सत्तालिप्साबाट देश र जनतालाई जोगाउनु आजको प्रमुख राष्ट्रिय आवश्यकता हो।
देश बदल्न सकिन्छ - यदि हामीले सोच्ने तरिका बदल्यौं भने।
🔹 केन्द्रबिन्दु : सुधारको दिशा
अब हाम्रो ध्यान केन्द्रित हुनुपर्छ -
संघीय संरचना र प्रणालीगत सुधार (Reform and Restructuring) तिर।
समानुपातिक प्रणालीमा नेतृत्वको एकलौटी चयनले नयाँ नेतृत्वको विकासमा अवरोध सिर्जना गरेको छ। परिणामस्वरूप नेतृत्व सिन्डिकेट बनेको छ -
त्यो पनि अहिले जनआक्रोशको आगोमा इन्धन बनेको छ।
अब हरेक संरचना निर्माण गर्दा -
देशको आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक यथार्थ अनुसार स्थायित्व र कार्यक्षमता दिने योग्य व्यक्तिहरूको पारदर्शी सहभागिता सुनिश्चित गर्न जरुरी छ। त्यसका साथै, हरेक तह साधन–स्रोतसंपन्न र आत्मनिर्भर हुनुपर्छ।
सुधारका मुख्य दिशा
१. व्यवस्थापिका सुधार
जनताको प्रतिनिधित्व सुदृढ पारौं,
सरकार गठनको प्रक्रिया सरल बनाऔं,
र संसदको आकार सानो र व्यवहारिक बनाऔं।
समानुपातिक प्रणालीलाई माथिल्लो सदनमा सीमित गरौं,
र तल्लो सदनको सोच र निर्णयलाई माथिल्लो सदनले बौद्धिक पूर्णता दिन सक्ने संरचना बनाऔं।
२. कार्यपालिका सुदृढीकरण
पारदर्शिता, जवाफदेहिता र कार्यकुशलता सुनिश्चित गरौं।
मन्त्रालयहरूको संख्या आवश्यक मापदण्डभित्र सीमित राखौं,
र निजामती क्षेत्रलाई सानो र सक्षम बनाऔं -
(डा. डिल्लीराज खनालको आयोगको सिफारिसलाई आधार मान्दै)।
३. न्यायपालिका सशक्तीकरण
निष्पक्षता, पहुँच, पारदर्शिता र विश्वसनीयता कायम गरौं।
४. प्रदेश र स्थानीय निकाय पुनर्संरचना
स्वायत्त, सेवा–मुखी र परिणाम–केन्द्रित शासन प्रवर्द्धन गरौं।
प्रदेशहरूको संरचना घटाएर कार्यकुशल बनाऔं।
स्थानीय तहलाई राजनीतिक हस्तक्षेप–मुक्त राख्दै,
विकास–केन्द्रित र सेवामूलक बनाऔं -
पार्टीगत चिन्हभन्दा बाहिर, राष्ट्रिय हितमा केन्द्रित!
५. संवैधानिक आयोगहरूको एकीकरण
स्वतन्त्रता, सन्तुलन र कार्यक्षमता सुनिश्चित गर्दै
तीन प्रमुख आयोगहरूलाई सुदृढ बनाऔं -
निर्वाचन आयोग, अख्तियार आयोग, र संस्कृतिक–भाषिक–जातीय आयोग।
६. संविधान सुधारका लागि खुला संवाद
हाम्रो देश, हाम्रो संविधान -
यसको प्रत्येक प्रावधानमा समाजका हरेक वर्ग, समुदाय र क्षेत्रको
खुला र सार्थक छलफल अनिवार्य हुनुपर्छ।
अर्को पक्ष : नेपाली राजनीतिक भाषाको पुनर्जागरण
अब नेपाली राजनीतिको शब्द–भण्डार, व्याकरण र भाषाको पनि पुनर्निर्माण आवश्यक छ।
हाम्रो जनजिब्रो र माटो सुहाउने, आत्मीय र आफ्नै भाषाशैली चाहिन्छ।
आयातित शब्द, व्याकरण र भाषाले हाम्रो विचार प्रदूषित गरेका छन् -
त्यसैले, अब आफ्नै विचार र अभिव्यक्ति निर्माण गर्नुपर्ने बेला आएको छ।
नेतृत्वको लागि नेपाली माटो चाहिन्छ -
गमलामा रोपिएको बिरुवा होइन,
आफ्नो माटोमा जरा गाड्ने व्यक्तित्व चाहिन्छ।
निष्कर्षः
अब समय आएको छ प्रणाली सुधार, सोचको पुनर्जागरण र व्यवहारिक पुनर्निर्माण गर्ने। राष्ट्रप्रति उत्तरदायित्व, पारदर्शिता र दूरदृष्टि - यही बाटोले नयाँ नेपाल निर्माण गर्छ। अब हामीले भावनाले होइन, दृढ संकल्प र स्पष्ट दृष्टिकोणले अघि बढ्नुपर्छ। सुधारको सुरुवात “आफू” बाट गरौं - त्यसपछि प्रणाली आफैं सुधारिन्छ । जय नेपाल (कांग्रेस नेता भण्डारीको फेसबुक वालबाट)