निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर अघि नबढ्न सरकारलाई चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
1k
Shares
काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार जान नहुने बताएका छन् ।
बिहीबार महासंघ परिसरमा महासंघका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौं स्मृति दिवसमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने भन्दै रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्ने माग गरे ।
जेनजी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट सरकार पाएको उल्लेख गर्दै अध्यक्ष सिंहले अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताए । उनले मुलुकको आर्थिक अवस्था नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित बनेको जिकिर गरे ।
अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने मात्र नभइ जेनजीहरूको पवित्र उद्देश्यअनुरुप मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि गम्भीर हुनुपर्ने बताए ।
अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव भइरहेको र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीलाई लाइसेन वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन्समात्रै वितरण गरिरहेको बताए ।
उनले भने, ‘जेनजी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट हामीले सरकार पाएका छौँ । अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको छ । मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित भएको छ । यो नयाँ सरकार जसको जगमा बनेको हो, यसले मुलुकमा निर्वाचन मात्र गराउने होइन, जेनजीको पवित्र उद्देश्य मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि यो सरकार त्यत्तिकै गम्भीर हुनुपर्छ । निर्माण क्षेत्रलाई सबैतिरबाट प्रहार भएको छ । प्राकृतिक प्रकोपको पनि सामना गरिरहेका छौँ । निर्माण क्षेत्रलाई व्यवस्थित गर्न तल्लिनका साथ अघि बढेका छौँ । निर्माण क्षेत्रमा आपराधिक गतिविधि गर्नेहरूको संलग्नता विगतमा जुन हुने गर्दथ्यो, त्यसबाट हामीले आपराधिक गतिविधि गर्ने र उहाँहरू जसरी निर्माण क्षेत्रमा हाबी हुनुभएको थियो । त्यसलाई न्युनीकरण गर्न महासंघ सफल भएको छ । अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीलाई लाइसेन्स वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन्स मात्रै वितरण गरेको छ । रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर यो सरकार नजाओस् । यो सरकारले त्यो योजना अन्त्य गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्छ ।’
कुनै पनि निर्माण कार्यको स्टिमेट गर्दा वास्तविक हुनुपर्ने र सकेसम्म कामहरू साना प्याकेज बनाएर बढी भन्दा बढी निर्माण व्यवसायीलाई सहभागिता जनाउने र स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनसके निर्माणको गति अघि बढ्न सक्ने उनले जिकिर गरे ।
अध्यक्ष सिंहले सडकबाट बनेको सरकारबाट निर्माण व्यवसायीले छ महिनाभित्र निर्वाचन गराउने मात्रै अपेक्षा नगरेको स्पष्ट पारे । मुलुकमा भएको बेथिति, भ्रष्टाचारलाई अन्त्य गरेर आम जनतालाई सन्देश दिन सक्नुपर्ने उल्लेख गर्दै उनले जनतालाई सुखद् अनुभुति दिन नसके अहिलेको सरकार पनि विगतको भन्दा फरक नहुने जिकिर गरे ।