हिन्दू युवाहरूको गिरफ्तारीको विरोधमा जनकपुरमा धर्ना, रिहाईको माग
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
1.1k
Shares
जनकपुरधाम । धनुषा जिल्लाको रुपैठास्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिंसात्मक आक्रमणका दोषीलाई कारबाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना दिइएको छ ।
राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चोकमा आयोजित उक्त धर्ना अभियानका हिन्दूवादी युवा नेता मनिष पुर्वे र उर्मिला महतोको नेतृत्वमा सम्पन्न भएको हो।
धर्नामा सहभागीहरूले धनुषा प्रहरी प्रशासनविरुद्ध कडा नाराबाजी गर्दै निर्दोष हिन्दू युवाहरूको तत्काल रिहाइको माग गरेका छन् ।
अभियानका नेताहरूले भने, “धर्म र संस्कृतिको संरक्षण गर्ने युवामाथि कारबाही गर्नु अन्यायपूर्ण कदम हो । प्रशासनले मूर्ति बिसर्जनका क्रममा आक्रमण गर्ने अपराधीमाथि कारबाही गर्नुपर्नेमा उल्टै पीडित समुदायका युवाहरूमाथि दमन गरेको छ, जुन अस्वीकार्य छ।”
धर्नामा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, हिन्दू संगठनका कार्यकर्ता र स्थानीय नागरिकहरूको पनि उपस्थिति रहेको थियो । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कारबाही र गिरफ्तार गरिएका युवाहरूको बिना शर्त रिहाईको माग गरेका छन् ।
स्थानीय प्रशासनले भने स्थितिलाई नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिएको जनाएको छ।