arrow

सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तीव्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
rea-binaya-yadav-82-6-29.jpg

काठमाडौँ । जेन-जी आन्दोलनको बलमा सुशील कार्कीको नेतृत्वमा गठित नागरिक सरकारले कार्यभार सम्हालेको एक महिना पूरा भएको सन्दर्भमा राष्ट्रिय एकता अभियानले आज काठमाडौँको माइतीघर मण्डलामा शक्तिशाली दबाब सभा आयोजना गरेको छ । 

भ्रष्टाचार छानबिनमा देखिएको ढिलासुस्ती र निष्क्रियताप्रति कडा आपत्ति जनाउँदै अभियानले सरकारलाई तत्काल कदम चाल्न दबाब दिएको हो । सभाको मूल नारा "भ्रष्टाचारविरुद्ध नागरिकको दबाब, पारदर्शिता र न्याय हाम्रो अधिकार" रहेको थियो, जसले नागरिक समाजको असन्तुष्टि र न्यायप्रतिको तीब्र चाहनालाई उजागर गरेको छ। कार्यक्रममा उल्लेख्य संख्यामा उपस्थित जनसमुदायले विभिन्न भ्रष्टाचारका काण्डहरूमा संलग्न दोषीमाथि अविलम्ब कारबाहीको माग गरेका थिए ।

सभामा उपस्थित जनसमुदायले विशेष गरी ठूला र चर्चित भ्रष्टाचारका काण्डहरूमाथि केन्द्रित भएर चर्का नाराबाजी गरेका थिए। उनीहरूले "पोखरा एयरपोर्टका भ्रष्टाचारीलाई कारबाही गर, विकासको हत्यारालाई उन्मुक्ति नदे !", "गिरिबन्धु र भुटानी शरणार्थी फाइल ओपन गर, सत्य छिपाउने खेल बन्द गर !" र "टेरामैक्स घोटालाबाजलाई कारबाही गर, जनता ठगेकालाई छोड्न पाइँदैन !" जस्ता नाराहरू लगाएका थिए । 

यस्तै, "काँटोंमेंट घोटालाको हिसाब दे, जनताको पैसामा विलासी जीवन बन्द गर !" र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाही गर भन्दै उच्च पदस्थ व्यक्तिहरूमाथि पनि कारबाहीको माग गरिएको थियो। समग्रमा "जनताको कर, नेताको खर –अब यो खेल बन्द गर !" भन्ने नाराले भ्रष्टाचारले आम जनतामा पारेको नकारात्मक प्रभावलाई झल्काएको थियो ।

कार्यक्रम युवा नेता सुरेन्द्र स्वारको नेतृत्वमा सम्पन्न भएको थियो, जहाँ राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, अभियंता शम्भु देव, अधिवक्ता चन्द्र यदुवंशी, र अभियंता रामबाबु यादव लगायतका वक्ताहरूले सम्बोधन गरे । 

उनीहरूले नागरिक सरकारले जेन-जी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । वक्ताहरूले पोखरा विमानस्थल, भूटानी शरणार्थी काण्ड, टेरामैक्स उपकरण खरिद र काँटोंमेंट घोटाला जस्ता मुद्दाहरूलाई सरकारले प्राथमिकतामा राखेर निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए । 

उनीहरूले "उत्तरदायित्व माग्ने समय सुरु भइसक्यो, भ्रष्टाचार सहने युग सकियो !" भन्दै सरकारलाई ढिलासुस्ती नगर्न चेतावनी दिएका थिए ।

शान्तिपूर्ण तर जोशपूर्ण वातावरणमा सम्पन्न भएको यस दबाब सभाको अन्त्यमा राष्ट्रिय एकता अभियानले आगामी दिनहरूमा पनि भ्रष्टाचार विरोधी अभियानलाई देशव्यापी रूपमा अझ सशक्त बनाउँदै अघि बढाउने घोषणा गरेको छ । 

यो प्रदर्शनले नागरिक सरकारमाथि न्याय र पारदर्शिताका लागि निरन्तर दबाब सिर्जना गरेको छ र भ्रष्टाचारका ठूला काण्डहरूलाई शीघ्र किनारा लगाउन थप बल पुर्‍याएको छ। अभियानको यो कदमले नागरिक समाजको निगरानी अझ बढेको सन्देश दिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ