विशेष महाधिवेशनका लागि कांग्रेसीहरूलाई दशैंको शुभकामना !
राजकुमार बस्नेत,
प्रकाशित २०८२ असोज १७ शुक्रबार
1.5k
Shares
बडादशैँ ! नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई दशैंको शुभकामना प्रेषित गर्न मन थियो तर सिंगो देशै शोकमा रहेकोले यो पटक शुभकामना दिन सकिएन । बरु यो घटनामा ज्यान गुमाउनु हुनेहरु प्रति अनन्त शान्तिको कामना र उपचारार्थहरु प्रति स्वास्थ्य लाभको कामना गर्दछु ।
यही शोक र शून्यताबीच ज्यान गुमाउने कलिला विद्यार्थी साथीहरूलाई सम्झदै नेपाली कांग्रेस र कांग्रेसीका प्रति भने केही कामना गर्नै पर्ने छ । हुनत सबै दल र उसका तमाम सदस्यहरुलाई पार्टीमा आमुल रुपान्तरण र मुलुकलाई समुन्नतिको मार्गमा लैजानका लागि बल र सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुपर्ने छ । यस आलेखमा भने विशेषगरी पुरानो लोकतान्त्रिक दल कांग्रेसका प्रति केही कामना गर्ने र भन्ने प्रयास रहनेछ ।
म यो बेला दशैंको अवसरमा जन्मगाउँ आएको छु, गाउँघर - आफन्त, युवा साथीहरू र स्थानीय तहमा पार्टी प्रति क्रियाशील भएर खट्नु हुने धेरैसँगको भेटघाटमा शहर तीरको खबर, आन्दोलन र अबको परिस्थितिको बारेमा प्रशस्तै कुराहरू भए । पुराना नेता र दलसँगको आक्रोशका साथै तिमिहरुको पार्टी कहिल्यै सुध्रिदैंन भन्ने आरोप समेत खेप्नुपर्यो । फेरि मुलुक र पुराना दलप्रतिको चिन्ता उहाँहरुको अनुहारमा प्रस्टै देखिन्थ्यो । आफू कांग्रेसी भएकोले पनि होला अधिकांश कांग्रेससँग कुनै न कुनै तवरले नजिक रहनुभएका युवाहरुसँगको भेटमा रुपान्तरण र सुधारिएको कांग्रेसले मात्र मुलुकको समुन्नतिको आधार तयार गर्न सक्दछ र त्यसका लागि कांग्रेस नेतृत्वमा परिवर्तन जरुरी छ । नत्र भने "भीरमा जाने गाइलाई रामराम मात्र भन्न सकिन्छ" भन्ने कुराले म आफैंलाई फेरीपनि नमज्जैले हल्लायो ।
यो समय देश उल्लास र खुशीमा रम्नुपर्ने थियो । तर, गत भाद्र २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलन हिंसामा परिणत भएर हाम्रा दर्जनौं आफन्तहरुले सहादत प्राप्त गर्न पुगे, जसले धेरैको घर र परिवारमा वेदना र शुन्यता बाहेक केहि छैन, मेरो गाउँमा पनि यसअघि झैँ दशैंको उस्तो रौनकता छैन । समग्रमा देशै शोकमा रहेको घडी हो यो । भलै; नयाँ पुस्ताले चाहेको जस्तो तत्कालीन सरकार बदलिएर उनीहरुको अनुसारको सरकार निर्माण र कार्य अघि बढेका छन, आगामी दिनमा कार्य प्रगति कति संतोषजनक हुन्छ त्यो भने देखिँदै जानेछ ।
मुलुकमा सुशासन र अग्रगमनको उत्कट चाहना र माग बोकेर युवा - विद्यार्थीहरु लोकतन्त्रको परिधिभित्र आफ्नो अधिकारका निम्ति शान्तिपुर्ण तवरले आन्दोलनमा होमिएका थिए । तर, त्यो शान्तिपूर्ण अवस्था केही घण्टा बाहेक टिक्न सकेन र आन्दोलन जुन तवरले हिंसाको मैदानमा पुग्यो त्यसको जतिनै निन्दा गर्दा पनि कमि हुन्छ । त्यसमा छानबिन र दोषी उपर कारबाही पहिलो सर्त हो, अनुसन्धान आयोग बनेको छ हाललाई हामीले उसैमाथिभर विश्वास गर्ने हो र सबै पक्षले उक्त आयोगलाई सहयोग गर्न जरुरी हुन्छ । तथापि उहाँका विषयमा समेत पक्ष लिएको कुराहरू बाहिर आएका छन आफैंले जवाफ दिनुहोला - भोलि खुल्दैजाला ।
आन्दोलनको म्यान्डेट अनुसार आवश्यकताको सिद्धान्त अनुसार प्रतिनिधि सभाको निर्वाचन गराउने गरि पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरेपछि कार्कीले ६ महिना भित्र (फागुन २१ गते) प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेर बहाल रहेको प्रतिनिधि सभा विघटनको सिफारिस गरी राष्ट्रपति द्वारा सदर गराइएको छ । भलै, अहिलेको सरकारले निष्पक्ष रूपमा निर्वाचन गराउन सक्छ कि सक्दैन त्यो हेर्नै बाँकी छ । आन्दोलनको नाममा बर्बर हिंसामा प्रत्यक्ष सहभागी अपराधीहरुलाई कारबाही नगर्ने लगायतका जुन अड्डी र रणनीति अहिलेको गृह मन्त्रालयले लिएको छ त्यो हेर्दै गर्दा निष्पक्ष निर्वाचन गराउन यो सरकार लागिपर्छ भन्ने कुरामा बिश्वास गर्न सकिने अवस्था छैन । गृहमन्त्रीको यो कुराले मुलुक राज्य विहिनताको अवस्थामा पुगेको छ, पुर्याइएको छ ।
नेपालमा सम्पन्न भएका अधिकांश निर्वाचन नेपाली कांग्रेसको नेतृत्वको सरकारले गराएको यथार्थ इतिहास छ । आफैंले गराएको निर्वाचनमा समेत कांग्रेसले हार व्यहोर्नुपरेको छ, तर निर्वाचन प्रति कहिल्यै सौदावाजी गरेको छैन । कांग्रेस पार्टी सबैभन्दा पुरानो र लोकतन्त्र प्रति प्रतिबद्ध भएको कारणले पनि नागरिकको मतबाट परिक्षण हुने कुरामा कहिल्यै बहाना खोजेको इतिहास छैन । प्रतिनिधि सभाको अवधि ५ वर्षको भएपनि अहिलेको विषम परिस्थितिले बीचैमा निर्वाचनमा जानुपर्ने अपरिहार्यता खडा गरेको हो । कांग्रेसले जसरी नागरिक मतलाई सर्वोपरि ठान्दछ त्यसैगरी नागरिक आन्दोलनलाई समेत महत्त्वपूर्ण ठान्दछ । लोकतान्त्रिक राज्यमा आन्दोलन कानुनको स्रोत समेत हुने गर्दछ । त्यसैले अहिलेको आन्दोलनलाई समेत अपव्याख्या गर्ने र हेप्ने काम गर्नु हुँदैन । बरु, यसले दिएको शन्देश र म्यान्डेटलाई स्विकारेर अघि बढ्नु नै उचित हुनेछ ।
यो पटकको आन्दोलन भ्रष्टाचार विरुद्ध, सुशासन कायमका खातिर, पछिल्ल्ला पुस्ताहरुसँग पनि नजिक हुने र उनिहरुको समेत कुरा सुन्ने नेतृत्व स्थापित गराउनेका साथै घुमिफिरी र लगातार एउटै अनुहार दशकौंदेखि मुलुकको नेतृत्वमा दोहोरीरहने परिस्थितिका विरुद्धमा उठेको हो । यसको जगमा नयाँ निर्वाचन गराउने गरी अन्तरिम सरकार बनेको छ । आन्दोलनले सत्ता मात्र परिवर्तन गराएको होइन, हाम्रा राष्ट्रिय दलहरुको दशकौंदेखिको एउटै नेतृत्व र उही व्यक्ति घुमिफिरी प्रधानमन्त्री हुने गरी प्रत्येक दललाई जसरी कजाएर राखिएको छ यसलाई भत्काउनु पनि थियो । त्यसैले, यो आन्दोलनले हाम्रा पार्टीहरुलाई सचेत मात्र गराएको छैन मज्जाले धक्का समेत दिएको छ । अब, यसलाई स्विकारेर आमुल रुपान्तरणमा लाग्ने की दु:खको गर्तमा लाग्ने तमाम सदस्यहरुले सोच्नुपर्ने बेला आएको छ ।
हुनत, लोकतन्त्र भन्ने बित्तिकै निर्वाचन मात्र पनि होइन । यो आचरण हो, परिवर्तन हो र संस्कार पनि हो । नेतृत्वको उमेर, उर्जा र स्वास्थ्यलाई पनि हेरेर ससम्मान आराम दिने र समयमै नेतृत्व हस्तान्तरण हुने कुराको अभ्यास पनि लोकतान्त्रिक मुलुकमा लोकतान्त्रिक दलमा हुने गर्दछ । तर, हामीले अभ्यास गरेको पार्टी प्रणाली र लोकतन्त्रमा उक्त कुरा कथा जस्तो लाग्दछ । त्यसै कारण पनि यो पटकको आन्दोलन जबर्जस्त उठेको हो ।
आन्दोलनको सन्देश अनुसार आफूलाई रिफर्म गर्नु ठूला दलहरुको प्रमुख कार्यभार हो । नेपाली कांग्रेसले पनि आउँदो निर्वाचन अगावै विशेष महाधिवेशन मार्फत नयाँ नेतृत्व लिएर चुनावमा गएन भने स्वयं कांग्रेसलाई मात्र होइन लोकतन्त्रलाई समेत ठूलो असर पर्नेछ । उक्त कुरा स्वीकारेर कांग्रेस पार्टीका श्रद्वेय सभापति शेरबहादुर देउवा स्वयंले मार्ग प्रशस्त गरिदिए कांग्रेस पार्टी र नेपालको लोकतन्त्रलाई इतिहासमा ठूलो गुन हुनेथियो ।
तर यति कुरा नबुझेरै - बुझेरै पनि उहाँ नजिक हुनुहुने नेता तथा कार्यकर्ता साथीहरूले जुन तवरले अभियान चलाइरहनु भएको छ र विशेष महाधिवेशन माग गर्ने नेताहरूलाई जसरी बद्नाम गर्न लागिपर्नु भएको छ त्यसले दुनियाँ हाँसेको मात्र छैन कांग्रेसप्रति आस्था र चिन्ता राख्नेहरु निराश हुनुपरेको छ । आफ्नो स्वार्थलाई थन्क्याएर एकपटक पार्टी र मुलुकका प्रति उनीहरुले सोचुन र भोलिको भविष्य प्रति पनि सोचुन् । कांग्रेस र कांग्रेसीको विगत इतिहास यति कमजोर र स्वार्थमा रुमल्लिएको थिएन । इतिहासले उनिहरुलाई कहिल्यै माफी दिन सक्दैन ।
विशेषगरी कांग्रेस पार्टीका १४ महाधिवेशनका महाधिवेशन प्रतिनिधि ज्यूहरुलाई हार्दिक आग्रह । तपाईंहरुको विवेक र हातमा पुनः कांग्रेस पार्टी विनिर्माणको अवसर आएको छ । तपाईंहरुलाई परिस्थितिले कांग्रेस पार्टीको भविष्यका खातिर एउटै कार्यावधिमा दोस्रो पटक आफ्नो विवेक प्रयोग गर्ने अवसर प्रदान गरेको छ । त्यसको लागि तपाईं आफैं जिम्मेवार पूर्वक लागिपर्नु पर्नेछ । आज हामी कांग्रेस पार्टी नामको डुंगामा सभापति शेर बहादुर देउवा - महामन्त्री गगन थापा - स्वयं तपाईं महाधिवेशन प्रतिनिधि ज्यूहरु हुँदै अस्ति भर्खरै विश्वविद्यालयहरुमा बडो उर्जा र उत्साहका साथ कांग्रेस पार्टीको बिचार प्रति समर्पित हुँदै नेविसंघको झन्डा बोकेर स्ववियु निर्वाचनमा होमिएका विद्यार्थी साथीहरु हुनुहुन्छ । एउटा जीवन्त पार्टीमा ४/५ पुस्ता लोकतन्त्रको दुन्दुभि बजाएर लागिरहेका छौँ ।
हामीले यो पार्टीमा लागेका हामी ४/५ पुस्तालाई हेरेर मात्र हुन्छ ? हुँदैन । तपाईं हामीले आफ्ना नातिनातिना - छोराछोरी र भाइबहिनीलाई हेरेर निर्णय लिनुपर्नेछ, उनिहरुलाई सोध्नुपर्नेछ र सोच्नुपर्नेछ के मैले लिने निर्णयले मेरो भोलिको पुस्ता र मुलुकलाई न्याय गर्ला अनि पार्टीलाई बलियो बनाउला ? जुन पार्टीले भोलिको नेपाललाई समुन्नत बनाउला । त्यसैले कांग्रेसका तमाम कांग्रेसी सदस्यहरुले आ-आफ्नो ठाउँबाट इतिहासको कठघरामा उभिएर निर्मम रुपमा उत्तर दिएर प्रण गर्नुपर्ने बेला आएको छ ।
एकपटक अलि अघि कांग्रेस महामन्त्री गगन थापाले एउटा कार्यक्रममा भन्नुभएको थियो: "मैले कुनै निर्णय लिनुपर्दा मेरो छोरीहरु र उनिहरुको पुस्तालाई हेरेर धारणा बनाउँछु र मेरो छोरीहरुले ठूली भएपछि गर्वले भन्न सकुन् म गगन थापाको छोरी हुँ भनेर ।" फेरि अर्को ठाउँ भन्नुभएको थियो: "म राजनीतिबाट रिटायर्ड भएपछि एक्लै कतै चौतारीमा हिँड्दैगर्दा कसैले भेट्यो भने भनिदिउन अहो! गगन दाइ, जय नेपाल ! आरामै हुनुहुन्छ ?" आजको पुस्ताले खोजेको यही कुरा थियो । उनिहरुले असल नियतका साथको प्रयास चाहेका थिए । गगन थापाका उक्त दुई सन्दर्भ सुन्दा सरल लागेपनि यसको अर्थ र अन्तर्य गहिरो छ । यो पटकको आन्दोलन राज्यको नेतृत्व गर्नेहरुले यही कुरामा ध्यान नदिँदा भएको हो ।
त्यसोत; गगन थापाले २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा नयाँ पुस्ताकी किशोरी ओसिन सिटौलालाई आफ्नो प्रस्तावक राखेर चुनावी अभियान थालेका थिए र गगन थापा निर्वाचित पनि भए । यद्यपि, कार्यकारी भूमिकामा गगन थापा रहन पाएनन्, कांग्रेस संसदीय दलको निर्वाचनमा उनै गगनले शेर बहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । अघिल्लो प्रतिनिधि सभाको कार्याकालमा नेकपाको सरकारले दुइदुई पटक प्रतिनिधि सभा विघटन गरि सिंगो मुलुक नै हायलकायल बनाइदियो । यसपटक जेनजीको आन्दोलनमा पनि उक्त कालखण्डको ओली अतीको प्रभाव रहेकोछ ।
हिजो संविधान सभामा होस् या आज प्रतिनिधि सभामा सबैभन्दा धेरै संशोधन हाल्ने र कानुन निर्माणमा ठुलो भुमिका निर्वाह गर्ने व्यक्ति गगन थापा नै हुन् । एकपटक स्वास्थ्यमन्त्री त्यो पनि ६ महिनाका लागि बन्दैगर्दा उनले उल्लेखनीय रुपमा देखिने र प्रभावकारी कामहरु गरेको कुरा दुनियाँका अघि छर्लङ्ग छ । त्यतिमात्र होइन ०७४ पछि नेकपाको सरकार बन्दा बलियो प्रतिपक्षीको रुपमा एक्लो गगन काफी थिए । भर्खरै सत्ताबाट बाहिर पुगेको केपी ओलीको सरकारको कार्यदलमा रहँदा नागरिकलाई झन्झट खेपाएको कानुनका जटिलता चिर्ने र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गरि राज्यलाई फाइदा पुर्याउने आइटी लगायतको क्षेत्रको सुधारका लागि अध्यादेश मार्फत कानुन बनाउन गगनले खेलेको नेतृत्वदायी भुमिकाको सबैले प्रशंसा गरेकै छन । तर, जब प्रधानमन्त्रीले सुधारका लागि दिएको र गलत निर्णय नलिन दिएको सुझाव सुन्न छोडे त्यसपछि उनि उक्त कार्यदलको बैठकमा जानै छोडिदिए ।
यहाँ पटकपटक गगन थापाको नाम मात्रै किन लिएको होला भन्ने लाग्न सक्ला । गगन थापा कांग्रेस पार्टीको मात्र होइन समकालीन राजनीतिको यस्ता पात्र हुन; जसले समयको वेगलाई चिनेर सधैं सँगै अघि बढ्ने गरेका छन । आजको जेनजी पुस्ताले उठाएको माग उनले दशक अघि बोलेका हुन् र आफूले पाएको र लिएको जिम्मेवारी बडो कुशलता पूर्वक सम्पन्न गरेका छन । पार्टी भित्र र बाहिर समेत उनि निर्भीकताका साथ नेतृत्व परिवर्तनको कुरा उठाइरहेका हुन्छन । आफ्नै पार्टीभित्र त लगातार संघर्ष गरिरहेका छन । यो कुरा आजको पुस्ता र विशेषगरी आम कांग्रेसी जनले बुझिदिनु पर्नेछ ।
आदरणीय कांग्रेसीजनहरु; हामी चुनौती र अवसरको एकसाथ अगाडि उभिएका छौँ । हामीले यो घडी बडो संयमित ढंगले आफ्नो गुट, आदेश, दाजुभाई, सँगै रहेको या विभिन्न स्वार्थ यदि भएपनि ती सबै कुरालाई बिर्सिएर कांग्रेस पार्टीको सान्दर्भिकतालाई पुनः जीवन्त दिनको निम्ति लागिपर्नु पर्नेछ ।
त्यसका लागि यो बेला हामीसँग तुरुन्तै नियमित महाधिवेशन या विशेष महाधिवेशन दुई विकल्प छन । कांग्रेसको विधानले पार्टीको महाधिवेशन प्रत्येक ४/४ वर्षमा गरिनु पर्दछ र १ वर्ष थप गर्न सकिने प्रावधान रहेको छ । ४ वर्ष आगामी मंसिरमा पुग्दछ तर, सबै प्रक्रिया पुरा गरि सबै तहको महाधिवेशन गर्न यो मंसिरमा सम्भावना देखिदैन । विशेष महाधिवेशनमा भने केन्द्रिय नेतृत्वको लागि मात्र पुरानै प्रतिनिधि द्वारा मतदान गरिन्छ र यो बीचमा सहजै सम्भव पनि हुन्छ । त्यसैले विशेष महाधिवेशन मात्र तत्कालको उपयुक्त उपाय र विकल्प हो ।
अब, विशेष महाधिवेशनमा भाग लिने प्रतिनिधि हरुका सन्दर्भमा हामीसँग दुई विकल्प छन । एक, कांग्रेसका करिब ८ लाख कृयाशिल सदस्यले एकसाथ सिधै मत दिने र सभापति चुन्ने प्रक्रिया र दोस्रो, १४ औं महाधिवेशनका प्रतिनिधिहरुले नै मतदान गरि नेतृत्व चयन गर्ने ।
एक, कांग्रेसले संस्थागत रुपमा आफ्ना कृयाशिल सदस्यको संख्या ८ लाख पुर्याएकोमा गर्व सहित दाबी गर्दै आएको छ । आज चौतर्फी रुपमा प्रत्यक्ष कार्यकारीको माग बढीरहेकोमा कांग्रेस पार्टीले एक कदम अघि बढेर आफ्नै पार्टी भित्र प्रत्यक्ष सभापति चयन गर्न किन ढिला गर्ने ? अरु पार्टीहरुलाई समेत उदाहरण किन नबन्ने ? आफ्नै कृयाशिल सदस्य प्रति किन अविश्वास र डर राख्नुपर्ने ? आम कांग्रेसीजनलाई हार्दिक आग्रह सबै मिलेर प्रत्यक्ष सभापतिको लागि दबाब सिर्जना गरि वडा तहबाट नै सभापतिका लागि मतदान गर्न सकियो भने गगन थापाले भनेजस्तै सबै गुटहरु भत्किएर पार्टीमा एकैपटक तल्लो तहदेखि माथिल्लो तहसम्म रक्तसञ्चार हुनेछ । जसले नेपाली कांग्रेसलाई जरैदेखि बलियो बनाउने छ ।
दोस्रो, यदी पहिलो विकल्प अनुसार प्रत्यक्ष सभापति चयन गर्न सकिएन भने मात्र दिस्रो विकल्पमा अनिवार्य रुपमा जानुपर्दछ । १४ औं महाधिवेशनका लागि चयन भएका महाधिवेशन प्रतिनिधिहरु बाटै आगामी निर्वाचन अगावै विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्दछ र नयाँ नेतृत्वका साथ निर्वाचनमा जानुपर्ने अवस्थाको निर्माण जेनजी आन्दोलनले गरिदिएको छ । यो सबै कदममा पार्टी सभापति र वरिपरिका नेताहरुले आवश्यकता र अपरिहार्यताको महसुस गरी बाटो खुला गर्नुपर्दछ ।
यदि, यी प्रक्रिया र पार्टी विनिर्माणको कदममा सभापतिले नचाहने र बाधा मात्र पुर्याउने हो भने श्रद्वेय सभापति शेरबहादुर देउवाको भविष्यमा बच्ने साख र सहानुभूति समेत सखाप हुनेछ । हाम्रा नेताहरुको बेलैमा सद्बुद्दि पलाओस् ।
त्यसैले; आदरणीय कांग्रेस पार्टीका महाधिवेशन प्रतिनिधि एवं कांग्रेसी साथीहरू तपाईंहरुको विवेकलाई साक्षी राखेर कांग्रेस रुपान्तरण र विनिर्माणको अभियानमा लाग्नुहोला । समुन्नत नेपालको अभिभारा उठाउन सक्ने तथा सबै पुस्ता र नागरिकको बिश्वास आर्जन गर्न सक्ने बलियो, विश्वासीलो र उर्जाशील कांग्रेस निर्माण गर्ने कदममा तपाईंको विश्वासीलो साथ र सहयोग रहोस्, यो पटकको दशैंको अवसरमा हार्दिक शुभकामना ।