arrow

गलकोटमा सरसफाइ जागरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
galkot3.jpg

गण्डकी। शनिबार आयो कि कुटोकोदालो, गैँती, बेल्चा बोकेर ‘हाम्रो टिम गलकोट’का सदस्य गाउँटोल र सार्वजनिकस्थलको सरसफाइमा जुटछन् ।

वातावरणीय स्वच्छतासँगै सरसफाइप्रति सचेतना अभिवृद्धिका लागि सुरु गरिएको उक्त अभियानले १६औँ हप्ता पार गरिसकेको छ । गत असारको पहिलो शनिबार गलकोट नगरपालिका-३ र ६ जोड्ने गौँदीखोला पुल सरसफाइ गरी अभियान शुरू गरिएको थियो ।

त्यसता ‘हाम्रो टिम गलकोट’ले हरेक शनिबार सडक, पुल, नाला, चौतारा, धारा, विद्यालय, मन्दिरलगायत सार्वजनिकस्थलको सरसफाइ गर्दै आएको छ ।

उक्त टिममा आबद्ध स्वयंसेवी युवा, समाजसेवी, पेसाकर्मी आदि मिलेर गलकोट नगरपालिकाभित्र साप्ताहिक सरसफाइ अभियान सञ्चालन गरिएको स्थानीय अगुवा कृष्णबहादुर थापाले बताए ।

पछिल्लो हप्ता गलकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा गलकोट नगरपालिका-३ स्थित ऐतिहासिक गलकोट कोतघरको सरसफाइ गरिएको थियो । सरसफाइ अभियानमा स्थानीय जनप्रतिनिधि, सामुदायिक संस्था, प्रहरीलगायतले पनि सघाउँदै आएका छन् ।

अभियानका संयोजक दीपक शर्मा पौडेलले गलकोट-३, ५ र ७ को संगमस्थलमा रहेको दरमखोला पुल, गलकोट-२ नरेठाँटीको पुल, गलकोटऔ३ रजराको ऐतिहासिक चौतारो, गलकोट-६ स्थित नगरपालिका कार्यालय जोड्ने सडक र नालीलगायतका सरसफाइ गरिएको बताए ।

गलकोटमा पर्ने मध्यपहाडी लोकमार्गअन्तर्गतका यात्रु प्रतिक्षालय, गलकोट-९ को लक्ष्मीनारायण मन्दिर, गलकोट-५ टेउवा अवस्थित अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला सङ्ग्रहालय, गलकोट माध्यमिक विद्यालय आदिको पनि सरसफाइ गरिएको उनको भनाइ छ ।

गलकोटलाई वातावरणीय स्वच्छतायुक्त नगरका रुपमा विकास गर्न सरसफाइ अभियानमा सबै जुट्नुपर्ने संयोजक शर्माले बताए ।

अभियानकै क्रममा अन्तर्राष्ट्रिय रेडक्रस दिवस र संविधान दिवस पारेर गलकोट विभिन्न सार्वजनिकस्थलमा वृक्षारोपणसमेत गरिएको थियो ।

“निर्माण भएको वर्षौँ बित्दासमेत नियमित मर्मत र सरसफाइ नहुँदा मुख्य सडक र पुलमा कुरुप बनेका थिए, पुल छेउछाउ झाडीले ढाकिएको थियो”, संयोजक शर्माले भने “सरसफाइ गरेपछि नाली बुझिने, पुलमा पानी र हिलो जम्ने समस्या पनि हटेको छ ।”

सरसफाइ अभियान आगामी दिनमा पनि नियमित रुपमा सञ्चालन हुने उनले बताए ।

सुरुमा पाँच जनाबाट शुरू भएको उक्त अभियानमा अहिले झण्डै ५० जना आबद्ध भएका छन् । हरेक शनिबार बिहानको समयमा सरसफाइ अभियान सञ्चालन हुने गरेको छ ।

सरसफाइप्रति समुदायस्तरमा जनचतेना अभिवृद्धिका लागि उक्त अभियान महत्वपूर्ण रहेको संयोजक शर्माले बताए ।

“सरसफाइ र पर्यावरण संरक्षणमा जनसहभागिता जुटाउने र सरसफाइ जागरण फैलाउने उद्देश्यले यो अभियान शुरु गरिएको हो”, उनले भने, “पछिल्लो समय सहभागिता पनि बढ्दै गएको छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ