arrow

बाबुरामको स्पष्टोक्तिः नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागेँ, प्रचण्ड, देउवा र ओलीलाई भ्रष्टको संज्ञा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
baburam-bhattarai-82-6-9.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूले नेतृत्व छोडेको भए पनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताए । 

उनले राजनीतिक दलहरुभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनीतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले प्रमुख तीन परम्परागत दलका शिर्ष नतोहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरुले मुलुकलाई असफल बनाएको टिप्पणी गरे । उनले मुलुकमा सुशासन कायम गर्नको लागि जेन–जी विद्रोह जायज भए पनि केही नेता र वाह्य शक्तिले आन्दोलनलाई बदनाम गर्ने काम गरेको टिप्पणी पनि गरे । 

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरुलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताए । उनले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताए । 

निर्वाचन र शासकीय प्रणालीमा सुधार नगरेर भोलि पनि आजकै भ्रष्ट राजनीतिक दलहरुले देशको नेतृत्व गर्दा मुलुक थप जटिलतातर्फ जाने बताए । 

उनले जेन–जी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ