उत्तर कोरियासँग करिब दुई टन अत्यधिक समृद्ध युरेनियम छ : दक्षिण कोरिया
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
2.6k
Shares
काठमाडाैँ । दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ-युङले उत्तर कोरियासँग करिब दुई टनसम्म अत्यधिक समृद्ध युरेनियम भएको बताएका छन् ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले पहिले नै उत्तर कोरियासँग ‘महत्त्वपूर्ण’ मात्रामा हतियार-ग्रेड युरेनियम रहेको बताउँदै आएको छ । तर दुर्लभ सार्वजनिक पुष्टिमा मन्त्री चुङ डोङ-युङले भने, “फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस) लगायतका विशेषज्ञहरूको अनुमानअनुसार उत्तर कोरियासँग हाल ९० प्रतिशत वा सोभन्दा बढी शुद्धतामा करिब दुई हजार किलोग्राम अत्यधिक समृद्ध युरेनियम छ ।”
उनका अनुसार हाल उत्तर कोरियाका युरेनियम सेन्ट्रिफ्युजहरू चार स्थानमा सञ्चालन भइरहेका छन् । “मात्र पाँचरछ किलोग्राम प्लुटोनियम नै एउटा आणविक बम बनाउन पर्याप्त हुन्छ”, चुङले चेतावनी दिँदै भने, “दुई हजार किलोग्राम युरेनियमबाट ठूलो सङ्ख्यामा आणविक हतियार उत्पादन गर्न सकिन्छ ।”
आणविक हतियारका लागि आवश्यक प्लुटोनियम वा युरेनियम रिएक्टरमार्फत तयार हुन्छ । समृद्ध युरेनियमलाई ९० प्रतिशतभन्दा बढी स्तरमा संवर्धन गर्नुपर्छ, जसलाई ‘हतियार-ग्रेड’ भनिन्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का अनुसार एउटा बम बनाउन ४२ किलोग्राम चाहिन्छ । त्यस आधारमा दुई हजार किलोग्राम युरेनियमले करिब ४७ बम उत्पादन गर्न सकिन्छ ।
चुङले भने, “उत्तर कोरियाको आणविक विकास रोक्नु जरुरी छ” । तर उनले प्रतिबन्ध प्रभावकारी नभएको उल्लेख गर्दै समाधान केवल प्योङयाङ-वासिङ्टन शिखर वार्तामा रहेको बताए ।
यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले यसै हप्ता अमेरिकी वार्तामा सहभागिता जनाउन तयार रहेको तर आफ्नो आणविक भण्डार कायम राख्नुपर्ने अडान लिएको आधिकारिक केसिएनएले जनाएको छ ।
उत्तर कोरियाले सन् २००६ मा पहिलो आणविक परीक्षण गरेको थियो र त्यसयता संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध झेल्दै आएको छ ।
गत वर्ष सेप्टेम्बरसम्म आफ्नो युरेनियम संवर्धन सुविधा खुलासा नगरेको उत्तर कोरियाले योङब्योन साइटलाई वार्तापछि बन्द गर्ने भने पनि सन् २०२१ मा पुनः सक्रिय गरेको बताइन्छ ।
चुङले अघिल्लो दक्षिण कोरियाली प्रशासनलाई ‘मुख्य शत्रु’ घोषणा र निशस्त्रीकरणमा मात्र जोड दिँदा प्योङयाङलाई आणविक क्षमतामा सीमा बिना विस्तार गर्न सहज बनाएको आरोप लगाए ।
यसै सन्दर्भमा, जुन महिनामा पदभार सम्हालेका राष्ट्रपति ली जे म्युङले युन सुक येओलको तुलनामा प्योङयाङसँग नरम नीति अपनाउने सङ्केत दिएका छन् ।
उनले संयुक्त राष्ट्र महासभामा उत्तर कोरियासँगको तनावपूर्ण ‘दुष्चक्र अन्त्य गर्ने’ प्रतिबद्धता जनाउँदै शासन परिवर्तनको माग नगर्ने वाचा पनि गरेका छन् । एजेन्सी