वुद्धिजीवी र मुसाको कथा : कखरा पढेकाहरु लेख लेख्छन्, मुसाले कपडा काट्छ
प्रकाशित २०७३ माघ १९ बुधबार
1.6k
Shares
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वर्तमान सत्ताधारीहरुले आफुलाई महेन्द्रीय राष्ट्रवादी भनेको सुनाएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालतिर संकेत गर्दै आफुलाई खोक्रोराष्ट्रवादी, आडम्वरी र महेन्द्रीय राष्ट्रवादी भनेको सुनाएका हुन् ।
ओलीले हाँस्दै भने, ‘महेन्द्रीय राष्ट्रवाद भने । यस्तो पारियो कि राजा मात्र जनताप्रति उत्तरदायी हुन्छन् । नेता हुँदैनन् । एमालेप्रति यस्तो भ्रम पारिदिए ।’ नेताको जति शक्ति राजामा होला र ? ओलीले आफुहरुले राष्ट्रियताको संरक्षणका लागि मेची–महाकाली जागरण अभियान सुरु गर्न लागेको भन्दै एमालेले मुख्य पाँच वटा आधारहरुलाई आत्मसात गरेको बताए ।
उनले भने, ‘हामीले राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधिनता, राष्ट्रिय हित र समृद्धिलाई आधार बनाएका छौं । त्यसमा पनि अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय दायित्वलाई महत्वपूर्ण ठानेका छौं ।’ यत्ति भन्दा पनि कोही कसैलाई एमालेप्रति अस्पटता छ कि भनेर कार्यक्रम गरेको ओलीले सुनाए ।
यस्तै, ओलीले नीतिगत आधार पनि सुनाए । उनले भने, ‘संयुक्त राष्ट्रसंघको वडापत्र, राष्ट्रसंघले तय गरेका अवधारणा, आन्दोलनका उपलब्धि, सहअस्तित्व र सार्क, विमिस्टेक राष्ट्रहरुसँगको सहकार्य र आपसी सहयोग हाम्रा नीतिगत आधार हुन् ।’ राष्ट्रियताका सवालमा एमाले कहीँ कतै दुविधामा छैन । ओलीले आगाडि भने, ‘छिमेकीसँग सम्बन्ध बढाउने कुरामा एमाले कहीँ कतै कन्फ्यूज छैन ।’ तर, चटकी गरेर जनतालाई अल्मल्याउने खालका कुराहरु गरिरहेका छन् ।
अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रका मूल्यमान्यता एमालेलाई राम्ररी थाहा छ । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन र सुरक्षाको प्रत्याभूत गर्न एमाले पूर्ण जानकार छ ।’ कहीँ कतै शंकाहरु र कहीँ कतै आशाहरु छन् । तर, समानता र समावेशीतालाई अवलम्बन गर्दै एमाले देशको विविधता बुझेर अघि बढिरहेको ओलीले बताए । एमालेप्रति कहीँ कतै अस्पष्टता नरहेको भन्दै अध्यक्ष ओलीले जानाजान तोडमोड गर्ने गरिएको शंका गरे । एमालेले संक्रमणकाल अन्त्य गर्न पर्छ र निर्वाचन गर्नुपर्छ भन्नेकुरामा ध्यान केन्द्रीत गरेको छ ।
कखरा पढेकाहरु लेख लेख्छन्, मुसाले कपडा काट्छ
नेपालका वुद्धिजिवी र मुसाको कपडा काट्ने प्रसंग जोड्दै ओलीले भने, ‘कखरा र एबीसीडी पढेकाहरुले पन्ना भरीको लेख लेख्छन् । मैले पहिले पनि भनेको थिए नेपालको वुद्धिजिवीबारे । मुसाले कपडा किन काट्छ ? उसले पेट भर्न लुगा काट्ने होइन । दाँत कुँड्याउन कपडा काट्ने हो । काट्ने काम गरेन भने दाँत लामो हुन्छ भनेर कुँड्याउने हो । त्यस्तै मूर्खहरुले वुद्धिमा धार लगाउन लेख लेख्छन् । देशलाई नोक्सान पुग्ने गरी वुद्धिमा धार नलगाइदिए हुन्थ्यो ।’
यस्तै, ओलीले देश टुक्र्याउने खतरा बढेको भन्दै शरीरका जुनसुकै अंगमा हानेपछि आँशु आँखाबाटै खस्ने उदाहरण दिए । उनले भने, ‘खुट्टामा हानेपनि आँशु आउने आँखाबाटै हो । देशलाई कहिले यताबाट कहिले उताबाट चिमोटेर रुवाउने काम भइरहेको छ । यति सम्मकी देशलाई रुवाउन एमालेलाई हाने पुग्छ भन्ने भावना विकसित भएको छ ।’ जसले जे सुकै गरेपनि एमाले सामाजिक न्याय र व्यवहारिकताको पक्षमा रहेको ओलीले सुनाए ।
प्रतिपक्षी पनि तपाइहरु नै राख्नुस् भन्ने सुझाव तपाईहरुबाट पनि जाओस्
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘अहिले बडो गजवको चलन देखियो । संसदको सार्वजनिक लेखा समितिको सभापति पनि सत्तापक्षकै चुनियो । लोकतन्त्रको मूल्यमान्यता लेखा समितिको सभापति विनाशर्त प्रतिक्षीलाई दिनु पर्छ भन्ने हो । यहाँ त त्यसो भएन ए प्रतिपक्षी भन्ने भिन्नै हुन्छ र सत्तापक्षभित्रै हुन्छ भन्ने भो ।
लेखा समिति सभापति कब्जा ।’ उहाँहरुलाई सुझाव छ लेखा समिति पनि तपाईहरु नै लिनुस् , ओलीले थपे, ‘म उहाँहरुको कमजोरी देख्दै छुँ । बहादुर सत्ताधारीले त पतिपक्ष पनि आफैतिर राख्नु पर्ने हो ।’ यो सुझाव तपाईहरुमार्फत पनि जाओस्–ओलीले पत्रकारहरुलाई यत्ति भनेपछि कार्यक्रममा सहभागिबीच हाँसो मच्चियो ।
मान्नु हुन्छ कि बाह्यशक्ति लगाऔँ भन्छन् !
ओलीले मधेस केन्द्रत दलहरुप्रति लक्षित गर्दै मान्नु हुन्छ कि बाह्य शक्ति लगाऔँ भन्ने भाषाहरु प्रयोग भइरहेका छन् भने । आफुले एउटा रेडियोको अन्तर्वार्ता सुनेको भन्दै ओलीले भने, ‘अन्तर्वार्ता सुन्दा बाह्य शक्ति वा तेस्रो शक्ति लगाउने भाषा प्रयोग गरेको सुनियो ।’ अब यस्तो खालको धम्कीहरु र नाटकहरु सुन्न पाइएकै छ ।