काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हाले आज (मंगलबार) सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले भू-उपयोगमा तेस्रो संशोधनको प्रक्रिया अगाडि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन्।
मन्त्री सिन्हाले भूमिसम्बन्धी धेरै समस्याहरू विवादास्पद रहेको भन्दै भू-उपयोग नियमावलीमा संशोधन आवश्यक देखिएको बताएका छन्। उनले कित्ताकाट रोकिएका कारण विकाससँग सम्बन्धित ट्रान्समिसन लाइन जस्ता कामहरू प्रभावित भएकोले ती कामहरूलाई सहज बनाउन नियमावलीमा संशोधन गर्न लागिएको जानकारी दिए।
उनले भूमिसम्बन्धी समस्या समाधानका लागि भूमि बैंकको स्थापनाको लागि पनि कदम चालेको बताए। साथै, स्थानीय तहको कार्यसम्पादनलाई थप जवाफदेही र सहज बनाउने प्रकृतिको निर्णय पनि भएको जानकारी दिए।