तातोपानी र केरुङ नाका बन्द हुँदा दशैँको सामान आयातमा समस्या
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
1.1k
Shares
काठमाडौँ । नेपाल–चीन जोड्ने प्रमुख नाकाहरू तातोपानी र केरुङ बन्द हुँदा दशैँका लागि ल्याइएका सामान नाकामै रोकिएका छन्। यसबाट व्यवसायीहरूले दशैँको व्यापारमा ठूलो समस्या भोगिरहेका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीका अनुसार, वर्षाका कारण तातोपानी र केरुङ दुवै नाका अवरुद्ध छन्। तातोपानी नाका जोड्ने अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरो गएकाले बाटो बन्द छ, भने केरुङ जोड्ने लेन्दे खोलाको पुल बाढीले बगाएकाले मितेरी पुल बन्न सकेको छैन।
राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठले दुवै नाका बन्द हुँदा लत्ताकपडा र कच्चा पदार्थको अभाव भएको बताए। उनका अनुसार, हाल तातोपानी नाकामा तीन हजारभन्दा बढी र केरुङ नाकामा एक हजार ५०० भन्दा बढी कन्टेनर सामानसहित रोकिएका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले जेनजी प्रदर्शनका कारण पनि समयमा सामान ल्याउन नसकिएको बताए। सामानको अभावले बजारमा भएका सामान महँगोमा किन्नुपरेको ग्राहकहरूको गुनासो छ। काठमाडौँको कीर्तिपुरबाट सामान किन्न आएका हीराकाजी महर्जनले यस वर्ष गत वर्षको तुलनामा लत्ताकपडाको मूल्य बढेको बताएका छन्।