तातोपानी र रसुवागढी खुलेपछि ओझेलमा कोरला: भन्सार जाँचपास ठप्पजस्तै
नाकाका कामदार र व्यापारी बेँसी झरे, २१ सय विद्युतीय कार भित्रिएपछि कोरलामा सन्नाटा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
636
Shares
काठमाडौँ। नेपाल र चीन जोड्ने उत्तरी कोरला नाकाबाट हुने आयात-निर्यात कारोबार पछिल्लो समय निकै न्यून भएको छ। सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि व्यापारीहरूले ती नाकालाई प्राथमिकता दिँदा कोरलामा व्यापारिक गतिविधि घटेको हो।
मुस्ताङ भन्सार कार्यालयका अनुसार यसअघि तातोपानी र रसुवागढी नाका बन्द हुँदा कोरलाबाट दैनिक १५–२० वटा मालवाहक कन्टेनर जाँचपास हुने गरेका थिए। तर, अहिले भन्सारमा जाँचपासका लागि ८-१० वटा कन्टेनर मात्र 'पेन्डिङ'मा रहेका छन्। नयाँ कन्टेनरहरू आउने क्रम लगभग रोकिएको सूचना अधिकारी निमेन्द्र सिंहले बताए। नाकामा चहलपहल घटेपछि र अत्यधिक चिसो बढेपछि स्थानीय व्यापारी र कामदारहरू जाडो छल्न बेँसीतर्फ झरेका छन्।
व्यापार घटे पनि कोरला नाकाले छोटो समयमै राम्रो राजस्व संकलन गरेको छ। गत ३१ भदौदेखि हालसम्म यहाँबाट साढे ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ। भन्सार कार्यालयका अनुसार हालसम्म ११ अर्ब बढीको मालवस्तु आयात भएको छ भने नेपालबाट १९ करोड बढीको हस्तकला तथा नेपाली उत्पादन चीनतर्फ निर्यात भएको छ। हालसम्म कोरलानाकाबाट २ हजार १०० बढी विद्युतीय कार (ईभी) नेपाल भित्रिएका छन्, जसमा पछिल्लोपटक बिवाइडी कम्पनीका ५०० कार सामेल छन्।
कोरला नाका समुद्री सतहबाट ४,६१० मिटरको उचाइमा रहेको र यहाँबाट सामान ढुवानी गर्दा अन्य नाकाको तुलनामा आर्थिक भार बढी पर्ने भएकाले आयात–निर्यातको परिमाण न्यून भएको हो। यद्यपि, भन्सार प्रमुख सिंहका अनुसार कतिपय व्यापारीका लागि यो नाका अझै सहज रहेकाले प्रतिकूल मौसम बाहेकका समयमा कारोबार शून्य भने नहुने दाबी गरिएको छ। हाललाई कोरला नाका 'वैकल्पिक नाका'का रूपमा सीमित भएको छ।